
२२ असोज, काठमाडौं। नेपाली फुटबल टोली फिफा विश्व रैंकिङमा एक स्थान तल झरिसकेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको रैंकिङ अनुसार नेपाल एक स्थान तल झरेर १७८ औं स्थानमा पुगेको छ। नेपालले अन्तिमपटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च ३१ मा भएको थियो, जब नेपाल लाओससँग पराजित भएको थियो। त्यो खेल राखेपबाट एन्फा निलम्बनमा परेको ६ दिनपछि सम्पन्न भएको थियो। त्यसयता नेपाली फुटबलले अन्तर्राष्ट्रिय गतिविधिमा कुनै प्रगति गर्न सकेको छैन। जुन २४ मा नेपाल फिफा निलम्बनमा परेको थियो।
दक्षिण एसियामा शीर्षस्थ भारत भने १३८ औं स्थानमा यथावत् छ। भारतले हालैको अन्तर्राष्ट्रिय ब्रेकमा पानामा, ब्राजिल र उरुग्वेसँग घरेलु मैदानमै मैत्रीपूर्ण खेल खेलेको थियो। अफगानिस्तान १६८ औं, माल्दिभ्स १७३ औं, बंगलादेश १८२ औं, श्रीलंका १८४ औं, भुटान १९२ औं र पाकिस्तान १९७ औं स्थानमा रहेका छन्। एसियाली टोलीमध्ये शीर्षस्थानमा रहेको जापान १७औं स्थानमा छ भने इरान २३औं र अस्ट्रेलिया २६औं स्थानमा रहेका छन्।







