Skip to main content
Advertisementxtreme adv

अफगानिस्तानका लागि नाबीको योगदान अझै जारी छ

२२ असोज, काठमाडौं । अफगानिस्तानका मुख्य प्रशिक्षक रिचर्ड पाइबसले अनुभवी अलराउन्डर मोहम्मद नाबीले छोटो फर्म्याटको क्रिकेटमा अझै देशका लागि महत्वपूर्ण योगदान दिन सक्छन् भनी बताएका छन्। जिम्बाबेविरुद्धको आगामी टी–२०आई शृंखलामा ४१ वर्षीय नाबी टोलीमा नपरेसँगै उनको अन्तर्राष्ट्रिय करियर सकिएको चर्चा भइरहेकै बेला पाइबसले नाबीका लागि अझै अवसरहरू बाँकी रहेको बताए। ‘मलाई लाग्छ, नाबीले आफूलाई उपलब्ध गराइएका फर्म्याटहरूमा अझै योगदान दिन सक्नेछन्’ पाइबसले बुधबार क्रिकबजसँग भने। पाइबसले नाबीलाई उत्कृष्ट क्रिकेटरको रूपमा चित्रण गर्दै उनको फिटनेस र व्यावसायिकता उच्च मूल्यांकन गरेका छन्। अफगानिस्तानका लागि नाबीको योगदान उल्लेखनीय रहेको र टोलीमा उनको सम्मान ठूलो रहेको पाइबसले बताए।

‘उनी अविश्वसनीय क्रिकेटर हुनुहुन्छ र आफूलाई सधैं उत्कृष्ट अवस्थामा राख्नुहुन्छ। उनी अनुशासित छन्। अफगानिस्तानका लागि उनको उपलब्धिहरू आफैंमा बोल्छन्। गतमा मात्र होइन, व्यावसायिक रूपमा आफूलाई प्रस्तुत गर्ने तरिकाका कारण पनि उनी सम्मानित हुनुहुन्छ’ पाइबसले बताए। हालै टोलीको प्रशिक्षणमा गरिएको जीपीएस ट्र्याकिङले नाबीले आफूलाई उत्कृष्ट अवस्थामा राखेको देखाएको पाइबसले बताए। उमेर बढ्दै जाँदा खेलाडीका लागि भोक र इच्छाशक्ति महत्वपूर्ण हुने उल्लेख गर्दै उनले नाबीले अझै धेरै योगदान दिने क्षमतामा विश्वास प्रकट गरे। ‘उमेर बढ्दा मुख्य कुरा भोक र चाहना हो। म उनको आगामी करियरलाई लिएर उत्साहित छु र उनीसँग काम गर्न प्रतिक्षा गर्दै छु’ उनले भने।

बंगलादेशविरुद्धको टेस्ट क्रिकेटमा आफूमाथि परीक्षण गर्ने अवसर पाइबसले सकारात्मक रुपमा लिएका छन्। अफगानिस्तानले अक्टोबर ९ देखि अबुधाबीमा बंगलादेशसँग एक टेस्ट खेल्न लागेको छ। यो टेस्ट अफगानिस्तानका लागि लामो फर्म्याटमा आफ्नो स्तर बुझ्ने महत्त्वपूर्ण अवसर हुनेछ। ‘अस्ट्रेलियाबाट राम्रो प्रदर्शन गरेर फर्केको बंगलादेशविरुद्ध खेल्नु टेस्ट क्रिकेटमा हामी कहाँ छौं भनेर जाँच्ने उत्तम मौका हो’ पाइबसले औँल्याए। अफगानिस्तानले टेस्ट क्रिकेटको तयारीमा आफ्नो खेलमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ। घरेलु प्रथम श्रेणी लामो फर्म्याट प्रतियोगिताबाट आएका खेलाडीले आवश्यक क्रिकेट फिटनेस र मैदानमा लामो समय बिताउने अनुभव हासिल गरेको पनि उनले बताए। तीव्र गतिका बलर र स्विङ बलिङको सामना गर्दा टोलीले आफ्नै खेल विकास, क्रिकेट ज्ञान र इनिङ्स निर्माणमा जोड दिनुपर्ने पाइबसले जोड दिए। ‘टेस्ट क्रिकेट सरल छैन र दबाबयुक्त खेल हो। हामीसँग छोटो अवधिमा तीन टेस्ट खेल्ने मौका छ। जति धेरै टेस्ट खेल्छौँ, हाम्रो विकास पनि उति नै तीव्र हुनेछ’ उनले थपे।