Skip to main content
Advertisementxtreme adv

एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दर्ता

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ। २३ असोज, काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा उनीहरूलाई प्रतिवादी बनाएको हो। मुद्दा दायर गरिएकामा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे रहेका छन्।

सरकारी वकिल कार्यालयले खेलकुद विकास ऐन, २०७७ को दफा ३३ को (ग) तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ३ (क) बमोजिम मागदाबी गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा एन्फाको नेतृत्वबाट विभिन्न विषयमा अनियमितता भएको निष्कर्ष निकालिएको थियो। त्यसकै आधारमा सरकारी वकिल कार्यालयले मुद्दा अघि बढाएको हो। बहराइनसँगको खेलदेखि खेल सामग्री खरिदसम्म अनियमितताको निष्कर्ष सीआईबीको प्रतिवेदनअनुसार सन् २०२४ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल नेपालमा हुन नसक्ने अवस्था सिर्जना गर्न एन्फा नेतृत्वको भूमिका रहेको निष्कर्ष निकालिएको छ।

दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य बनाइयो र एसियाली फुटबल महासंघ (एएफसी) ले तटस्थ मैदानमा खेलाउन निर्देशन दिने अघिनै एन्फा महासचिव राईले बहराइनमा खेल हुने सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, बहराइन फुटबल संघबाट खेलको टिकट बिक्री राजस्वले प्राप्त हुनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको संस्थागत खातामा जम्मा नभएको तथा खेलका लागि बहराइनका खेलाडी र पदाधिकारीको हवाई टिकट खर्चबापत ३८ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकम एन्फाको खातामा जम्मा भएको प्रतिवेदनमा उल्लेख छ।

सीआईबीले केल्मी ब्रान्डका खेल सामग्री खरिदमा पनि अनियमितता भएको निष्कर्ष निकालेको छ। १० लाख रुपैयाँभन्दा बढी खरिदमा बोलपत्र प्रक्रिया पालना नगरेको र खरिद प्रक्रियामा सहभागी तीन कम्पनी एउटै स्वामित्वको रहेको राखेपको उपसमितिको प्रतिवेदनले औँल्याएको छ। पछिल्ला साढे तीन वर्षमा एन्फाले करिब १४ देखि १५ करोड रुपैयाँ बराबर खेल सामग्री खरिद गरेको र वितरणमा समेत अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी, फिफाबाट प्राप्त विश्वकपका ३३० अनलाइन टिकट वितरण र बिक्रीमा पारदर्शिता नदेखाइएको साथै शेर्पा आउटडुअरसँगको खेल सामग्री खरिद र प्रायोजन रकममा पनि अनियमितता भएको सीआईबीको निष्कर्ष छ। मुद्दा दायर भएका चार जनामध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे सीआईबीको नियन्त्रणमा छन्। अध्यक्ष नेम्बाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतबाट म्याद थप गर्न सरकारी वकिल कार्यालयले अनुरोध गरेको छ। सीआईबीले एन्फा नेतृत्वका पदाधिकारीहरूले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को अनुमति नलिई सम्झौता गर्ने, विदेश भ्रमणमा टोली लैजाने र खरिद प्रक्रियामा अनियमितता गर्ने कार्यमा संलग्न रहेको निष्कर्ष निकालेको थियो।