Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शनअघि दशौँ हजार सुरक्षाकर्मी परिचालन

Advertisement800×200-1

जेनजी नेतृत्वको कक्रोच जनता पार्टी (सीजेपी)ले शनिबारका लागि घोषणा गरेको ठूलो विरोध प्रदर्शनअघि भारतको राजधानी दिल्लीका विभिन्न भागहरूमा दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। चुनावमा सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने माग प्रदर्शनकारीहरूले राखेका छन्। मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोपमा प्रमुख निर्वाचन आयुक्त मुछिएका छन्। तर भारतको निर्वाचन आयोगले उक्त आरोप अस्वीकार गरेको छ भने प्रमुख आयुक्तले अहिलेसम्म राजीनामाको मागबारे केही बोलेका छैनन्।

प्रदर्शनका लागि अनुमति नदिइएको प्रहरीले दाबी गरिरहँदा सीजेपीका नेताहरू जन्तरमन्तर पुग्ने बताएका छन्। प्रदर्शनअघि शनिबार बिहान सीजेपीका संस्थापक अभिजित दीपकेले प्रदर्शनको क्रममा आफूलाई पक्राउ गरिए पनि निष्पक्ष चुनावको लागि संघर्ष जारी रहने बताएका छन्। “मलाई आश्चर्य लाग्छ कि प्रधानमन्त्री यो देशका युवाहरूसँग किन यति त्रसित हुनुहुन्छ? सबै रेलवे सेवा र मेट्रो स्टेशनहरू बन्द गर्नु के आवश्यक थियो? उहाँले इन्टरनेट र यातायात सेवा बन्द गराइसक्नुभएको छ,” दीपकले भनेका छन्।

सीजेपीका सहसंयोजक आशुतोष राङ्काले आफूहरूले इतिहास रच्ने बताएका छन्। “प्रिय कक्रोचहरू! मलाई गर्व छ कि हामीले अहिलेसम्म यति लामो यात्रा तय गर्यौं। जेसुकै होस्, हामीले इतिहास अवश्य रच्ने छौँ,” उनले एक्समा लेखेका छन्। “एउटा कुरा याद राख्नुस्, तपाईँको हातमा संविधान र मुटुमा गान्धी हुनुपर्छ। जेसुकै होस्, हामीले हात उठाउने छैनौं। भारत माताकी जय।”

सीजेपीका संस्थापक दीपके, सर्वोच्च अदालतका वरिष्ठ वकिल प्रशान्त भूषण, सामाजिक तथा राजनीतिक कार्यकर्ता योगेन्द्र यादव, एआईएसएकी अध्यक्ष नेहा बोरा र प्रसिद्ध यूट्युबर ध्रुव राठीले पनि मानिसहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। सीजेपीले गर्न लागेको प्रदर्शनअघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनहरूबाट आउजाउ गर्ने २५० भन्दा बढी रेल सेवाहरू रद्द गरिएको छ। समाचार संस्था पीटीआईका अनुसार, रेलवे बोर्डको निर्णयअनुसार अक्टोबर ९ को दिउँसो २ बजेपछि प्रस्थान गर्ने यात्रु रेल सेवा रद्द गरिएको हो।

त्यसै गरी, अक्टोबर १० को बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ दिल्ली वा हजरत निजामुद्दीन स्टेशनमा आइपुग्ने रेलहरू पनि रद्द गरिने अधिकारीहरूले बताएका छन्। रेलवे बोर्डको आलोचना गर्दै धेरै रेल सेवाहरू रद्द गर्ने निर्णयले हजारौँ यात्रुहरूलाई परेको असुविधाबारे प्रश्न उठाइएको छ। पूर्व रेलवे अधिकारी, यात्रु संगठन र कर्मचारी युनियनहरूले यस कदमको आलोचना गरेका छन्। पूर्व रेलवे बोर्ड सदस्य सुबोध जैनले भने, “यति ठूलो संख्यामा रेल सेवा रद्द गर्नु प्रदर्शनकारीहरूसामु आत्मसमर्पण गर्नु जस्तै हो।” अखिल भारतीय रेलवे कर्मचारी महासंघका महासचिव शिवगोपाल मिश्राले पनि रेलवे सेवाको निर्णयको आलोचना गरेका छन्। “देशको कुनै पनि भागमा विरोध प्रदर्शन वा आन्दोलनका कारण यति ठूलो संख्यामा रेलहरू एकसाथ रद्द भएको मलाई पहिले कहिल्यै याद छैन,” समाचार संस्था पीटीआईसँग उनले भने। रेल सेवा अचानक रद्द हुँदा हजारौँ यात्रुहरूले ठूलो असुविधाको सामना गर्नुपरेको उनले बताएका छन्। अर्कोतर्फ, दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)ले ४५ वटा मेट्रो स्टेशनहरूका प्रवेश र निकास बिन्दुहरू बन्द गरिएको जनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर