Skip to main content

सरकारद्वारा कार्यस्थलमा अधिकतम ताप स्तर मापदण्ड कडाइका साथ पालन गर्न आग्रह

सरकारले कार्यस्थलका लागि अधिकतम ताप स्तर २०८२ मापदण्ड कडाइका साथ पालन गर्न आग्रह गरेको छ। श्रम मन्त्रालयले ३० पुस २०८२ मा कार्यस्थलका लागि अधिकतम ताप स्तर २०८२ स्वीकृत गरेको थियो। मापदण्डअनुसार कामलाई हल्का, मध्यम, गाह्रो र धेरै गाह्रो गरी चार श्रेणीमा विभाजन गरी प्रत्येकको तापक्रम सीमा निर्धारण गरिएको छ।

१६ चैत, काठमाडौं। सरकारले कार्यस्थलका लागि अधिकतम तापको स्तर (मापदण्ड) २०८२ अनुसार कडाइका साथ कार्यान्वयन गर्न अनुरोध गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उक्त मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको हो। श्रम मन्त्रालयले ३० पुस २०८२ मा कार्यस्थलका लागि अधिकतम तापको स्तर (मापदण्ड) २०८२ स्वीकृत गरेको थियो। १५ चैतमा विभागलाई पत्राचार गर्दै उक्त मापदण्ड कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो।

मापदण्डको प्रभावकारी कार्यान्वयन गरी कार्यस्थललाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको दृष्टिले मर्यादित र सुरक्षित बनाउन श्रम तथा रोजगार कार्यालय, रोजगारदाता, श्रमिक र सरोकारवालाहरुलाई अनुरोध गरिएको छ। विभाग प्रवक्ता मणिनाथ गोपले स्वीकृत मापदण्डअनुसार काममा कारबाही नभए प्रचलित कानुन अनुसार कारबाही गरिने बताए। मापदण्डअनुसार कामलाई हल्का, मध्यम, गाह्रो र धेरै गाह्रो गरी चार भागमा विभाजन गरिएको छ।

हल्का काममा वेटबल्ब ग्लोब तापक्रम अधिकतम ३२.२ डिग्री सेल्सियस हुनुपर्ने छ। त्यसैगरी मध्यम कामका लागि ३०.६ डिग्री, गाह्रो कामका लागि २८.९ डिग्री र धेरै गाह्रो काममा २६.९ डिग्री सेल्सियस तापक्रम हुनुपर्ने मापदण्डमा उल्लेख छ। हल्का कार्यमा बसेर वा उभिएर मेसिन नियन्त्रण गर्ने, हातले गर्ने हल्का कार्य जस्तै हाते औजारले काट्ने, हलुका सामान ओसारपसार गर्ने कार्यहरू पर्दछन्। मध्यम कार्यमा निरन्तर हात र पाखुराले गर्ने काम, हलुका धकेल्ने वा तान्ने जस्तै टेबुलमा कुर्सी सार्ने, सामान तलमाथि लैजाने कामहरू पर्दछन्। गाह्रो कार्यमा हात र शरीरको मांसपेशीमा असर पर्ने कडा काम, उठाउने, बेल्चा लगाउने, खन्ने, बोक्ने, भारी वस्तु धकेल्ने/तान्ने, तीव्र गतिमा हिँड्ने काम पर्दछन्। धेरै गाह्रो कार्यमा द्रुत गति देखि अधिकतम गतिमा गरिने अत्यन्तै कडा गतिविधिहरू छन्। भुइँ सतहभन्दा १.५ मिटर उचाइमा हावाको गति १.५ मिटर प्रतिसेकेन्डभन्दा बढी हुनुपर्ने व्यवस्था मापदण्डमा तोकिएको छ। वेटबल्बको तापक्रम सधैं ड्राई बल्बको तापक्रमभन्दा कम तर शतप्रतिशत सापेक्षिक आर्द्रतामा समान हुनुपर्ने मापदण्ड पनि छ। उक्त तापक्रमभन्दा फरक तापमा काम गर्नुपर्ने भएमा सुरक्षाका नियन्त्रणात्मक उपायहरू अपनाउनुपर्नेछ। यसका लागि व्यक्तिगत सुरक्षा उपकरण, कार्य घुमाउने व्यवस्था लागू गर्न सकिने मापदण्डमा उल्लेख छ।