

सिड्नी विमानस्थलमा कर्मचारी हडतालको घोषणा


सिड्नी । सिड्नी विमानस्थलबाट शुक्रबार यात्रा गर्ने यात्रुहरूले सुरक्षा जाँचमा सम्भावित ढिलाइको सामना गर्नुपर्ने हुन सक्छ। विमानस्थलमा सुरक्षा जाँचको जिम्मेवारी सम्हाल्ने सर्टिस कम्पनीका सयौँ कर्मचारीले तलब र रोजगारीका सर्तहरूबारे विवादका कारण अक्टोबर १६ गते शुक्रबार हडताल गर्ने घोषणा गरेका छन्। ट्रान्सपोर्ट वर्कर्स युनियन (टीडब्ल्यूयू) का अनुसार, हडताल बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। यो हडताल घरेलु तथा अन्तर्राष्ट्रिय टर्मिनल दुवैमा लागू हुनेछ।
कर्मचारीहरूले पूर्णकालीन रोजगारीका अवसरहरू बढाउन, कामको तालिका न्यायसंगत बनाउन र आंशिक समय काम गर्ने कर्मचारीहरूको कार्यघण्टा कटौती रोक्न माग गरेका छन्। युनियनका अनुसार कर्मचारीहरू अनिश्चित कार्यतालिका र रोजगारीको असुरक्षाबाट प्रभावित छन्। युनियनले सिड्नी विमानस्थल ठूलो नाफा कमाइरहेको अवस्थामा यात्रुको सुरक्षा सुनिश्चित गर्ने कर्मचारीलाई उचित पारिश्रमिक र सुरक्षित रोजगारी दिनुपर्ने माग राखेको छ।
टीडब्ल्यूयूका राष्ट्रिय सचिव माइकल केनले विमानस्थलले ठेक्का प्राप्त गर्ने कम्पनीहरूलाई लागत कटौती गर्न दबाब दिएको हुँदा कर्मचारीको तलब र सुविधामा असर परेको आरोप लगाएका छन्। सिड्नी विमानस्थलका प्रवक्ताले शुक्रबारको औद्योगिक कारबाहीबारे आफूहरू जानकारी राख्दै यात्रुमा पर्न सक्ने असर कम गर्न सम्बन्धित पक्षसँग सहकार्य गरिरहेको बताएका छन्।
विमानस्थलले यात्रुहरुलाई अतिरिक्त समय छुट्याउन र आफ्नो विमानसेवा कम्पनीबाट आउने सूचनामा ध्यान दिन सुझाव दिएको छ। सम्बन्धित पक्षहरूसँग वार्ता जारी रहेकाले हडतालको अवस्था परिवर्तन हुन सक्ने सम्भावना पनि छ। त्यसैले शुक्रबार सिड्नी विमानस्थलबाट यात्रा गर्ने यात्रुले विमानसेवा कम्पनीको एप वा आधिकारिक सूचनामार्फत उडानसम्बन्धी जानकारी जाँच गरी आवश्यकताअनुसार विमानस्थलमा केही समय अघि पुग्ने योजना बनाउनु उपयुक्त हुनेछ।

सम्बन्धित खबर









