
१६ चैत, हुम्ला । केही दिनअघि चंखेली गाउँपालिका–२ का अक नेपाली भिरबाट लडेर गम्भीर घाइते भए। उनलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगियो। तर अस्पतालले सिधै यहाँ उपचार सम्भव नहुने भन्दै अन्य अस्पतालमा रिफर गरिदियो। आफन्तले उनलाई सुर्खेत लैजान सिमकोट विमानस्थल पुर्याए, तर विमानस्थलमै उनको निधन भयो।
चंखेली–४ की ३४ वर्षीया बास्ना शाहीलाई सुत्केरी बेथाले च्याप्दा परिवारले तत्कालै हुम्ला अस्पताल पुर्याए। तर अस्पतालले उनलाई पनि प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिदियो। सिमकोट गाउँपालिका–४ बुराउँसेकी २५ वर्षीय अस्मिता बुढा (लामा) लाई समेत सुत्केरीका लागि जिल्ला अस्पताल हुम्ला पुर्याउँदा प्रादेशिक अस्पताल सुर्खेत रेफर गरियो।
अस्पताल परिसरमा भेटिएकी सिमकोट–५ की बेलु रोकाया ५ वर्षीय छोराको उपचारका लागि आएकी थिइन्। तर, उपचार गर्ने चिकित्सक थिएनन्। छोराको स्वास्थ्यका बारेमा उनी चिन्तित थिइन्। नर्सको भरमा उपचार भइरहेको थियो।
सिमकोट गाउँपालिका–७ डाडाँफयाकी लालपुरी सुनारकी छोरी बिरामी परेपछि उनी २ घण्टा पैदल हिँडेर जिल्ला अस्पताल हुम्ला पुगिन्। छोरीको स्वास्थ्य परीक्षण भए पनि रिपोर्ट त्यही दिन अस्पतालले प्रदान गरेन।
कर्णाली क्षेत्रमा पर्ने विकट हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालका यी केही प्रतिनिधि घटना मात्र हुन्। जिल्लाभर एउटै जिल्ला अस्पताल भए पनि यी उदाहरणहरूले अस्पतालमा आवश्यक उपचारको कमी देखाउँछन्। बिरामी अस्पताल आउँदा उपचार पाउनै मुस्किल छ र बिरामीलाई रिफर हुन तयार भएरै आउनुपर्ने अवस्था छ। अस्पतालमा न त सहजै डाक्टर भेटिन्छन्, न पर्याप्त औषधि तथा उपकरण।
१५ शैयाको यो अस्पतालमा कहिल्यै दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक हुँदैनन्, जसले हुम्ला समुदायले उपचार पाउने आशाले अधुरो बनाएको छ। जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पताल प्रमुख डा. उमाकान्त तिवारीका अनुसार अस्पतालमा ठूलो संख्यामा चिकित्सकीय दरबन्दी छ।
उनले भने, नवौँ तहका विशेषज्ञ चिकित्सकका तीनवटा दरबन्दी छन् – एक जना स्त्री तथा प्रसुती रोग विशेषज्ञ (गाइनालोजिस्ट), एक जना जनरल सर्जन र एक जना नशा तथा हाडजोर्नी रोग (अर्थोपेडिक्स) विशेषज्ञ। तर ती दरबन्दीहरू अहिले रिक्त छन्।
अर्कातर्फ चारजना मेडिकल अधिकृत (आठौँ तह) का दरबन्दी छन्, जसमा एकजना आफैं डा. तिवारी अस्पताल प्रमुख रहेका छन्। उनले एमडीजीबी अध्ययन पूरा गरिसकेका छन्। अन्य तीन जनाको पदपूर्ति भए तापनि एउटा अध्ययन बिदामा, अर्को सुत्केरी बिदामा छ भने अर्को हाल अस्पतालमा छैन।
अस्पतालमा एकजना मेडिकल अधिकृत निक साइमन नामक संस्थाबाट स्वयंसेवी र दुईजना छात्रवृत्ति करारका चिकित्सक रहेका छन्। अस्पतालमा एक जना डेन्टल सर्जन, ३ जना अहेब, ४ जना जनरल नर्सिङसहित दरबन्दीहरू छन्, तर अधिकांश समय यी दरबन्दी पूर्ण हुँदैनन् र कतिपय अवस्थामा एकजना पनि चिकित्सक पाउन कठिन हुन्छ।
अस्पताल प्रमुख डा. तिवारीले जनशक्तिको अभाव रहेकाले समस्या भएको बताए। ‘विशेषज्ञ चिकित्सक आउन चाहँदैनन्। यति दुर्गम ठाउँमा म मात्र बसिरहेको छु,’ उनले भने, ‘अन्य साथीहरू पनि विभिन्न कामका सिलसिलामा आउँछन् र जान्छन्, जसले सेवा प्रवाहमा कठिनाइ छ।’
तर अस्पतालले दैनिक रूपमा इमर्जेन्सी सेवा, ल्याब सेवा, एक्सरे सेवा, भिडियो एक्सरेदेखि जिल्लामै सुत्केरी गराउने व्यवस्था मिलाईरहेको दावी गरेको छ।






