डोनल्ड ट्रम्प: इरानसँग चाँडो सम्झौता नभए ऊर्जा केन्द्र र तेलखानीहरू ध्वस्त पार्ने चेतावनी

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यदि चाँडो सम्झौता हुन सकेन भने इरानका विद्युत् उत्पादन गर्ने केन्द्रहरू र तेलखानीहरू लगायतका संरचनाहरू पूर्णरूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्। यद्यपि उनले अमेरिकाले इरानको नयाँ सत्तासँग गम्भीर संवाद गरिरहेको र यसबाट इरानमा अमेरिकाको सैन्य कारबाही बन्द हुने सम्भावना रहेको दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्रूथ सोशलमा उनले लेखेका छन्, “अमेरिका एउटा नयाँ र बढी समझदार सत्तासँग सैन्य कारबाही समाप्त गर्ने विषयमा गम्भीर छलफलमा छ।”
“किन्डै प्रगति भएको छ र सम्भवत: सम्झौता हुनेछ, तर यदि कुनै कारणले चाँडै सम्पन्न नहुने हो र व्यापारका लागि तत्काल होर्मुज जलमार्ग खोलिएन भने हामी इरानमा अहिले सम्म सदाशयपूर्वक नछोएका सबै विद्युत् उत्पादन केन्द्रहरू, तेलखानीहरू, खार्ग टापु (र सम्भवत: पानी प्रशोधन केन्द्रहरू) पूर्णरूपमा ध्वस्त पार्नेछौँ।” यसैबीच इरान, लेबनन र इजरायलमा नयाँ हमलाका विवरणहरू पनि आएका छन्। त्यस्तै स्ट्रेट अफ होर्मुजमा पानीजहाजहरूको आवागमन युद्धअघि भन्दा निकै कम भएको बताइएको छ।
यी घटनाक्रमका बीच एशियाली बजारमा मंगलबार पनि तेलको मूल्य बढेको छ। अमेरिकी बजारमा तेलको मूल्य करिब ३ प्रतिशतले उक्लेर लगभग १०६ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ। अमेरिकी ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले प्रेस ब्रीफिङमार्फत इरान युद्धबारे जानकारी गराएकी छन्। उनले अमेरिकाले अहिलेसम्म १,००० भन्दा बढी स्थानहरूलाई निशाना बनाएको र १५० भन्दा बढी जहाजमा क्षति पुर्याउँदै इरानी जलसेनालाई केही तहसनहस पारेको दाबी गरेकी छिन्।
ट्रम्पले इरानी भूमिमा सेना पठाउने सम्भावनालाई अस्वीकार नगरे पनि उनले प्राथमिकता कूटनीतिक विधि नै भएको बताएका छन्। प्रेस सेक्रेटरीले अमेरिका र इरानबीच वार्ता निरन्तर जारी रहेको र सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गरेकी छिन्। साथै उनले इरानले अमेरिकासँग सम्झौता गर्ने अवसर गुमाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइन्। तर इरानी अधिकारीहरूले भने अमेरिकासँग वार्ता भइरहेको विवरणलाई पुनः अस्वीकार गरेका छन्। विदेशमन्त्रीका प्रवक्ता इस्माइल बाकाईले युद्ध सुरु भएदेखि अहिले सम्मको अवधिमा इरानले “३१ दिनभित्र कुनै कुराकानी नगरेको” दाबी गरेका छन्।
पहिले इरानी अधिकारीहरूले युद्ध समाप्त गर्न अमेरिकाले अघि सारेको मागलाई “अत्यधिक र अनुचित” भनेका थिए। उनीहरूले अन्तर्राष्ट्रिय बजारमा तेल मूल्यमा असर पुर्याउन वार्ताबारे गलत दावी प्रचार भइरहेको भन्दै त्यसको खण्डन गरेका छन्। घटनाक्रमको बीचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले “युद्ध आधाभन्दा धेरै अगाडि बढिसकेको” बताएका छन्। तर उनले युद्ध समाप्तिको कुनै निश्चित म्याद तोक्न चाहेनन्। उनले इरानको इस्लामिक गणतन्त्र अन्ततः “आन्तरिक रूपमा पतन हुने” टिप्पणी गरेका छन्।






