

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धार्मिक आस्थाका नाममा फैलिएको अन्धभक्तिप्रति व्यङ्ग्य गर्दै समाजमा ‘नक्कली भगवान्’ बढेको टिप्पणी गरेका छन्।
मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले दक्षिणतिरबाट आउने जोगीलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्तिमाथि प्रश्न उठाए। पौराणिक प्रसङ्ग उल्लेख गर्दै उनले देवता जन्मिने क्रम रोकिए पनि नक्कली भगवान् जन्मिन नरोकिएको व्यङ्ग्य गरे।
ओलीले योगको प्रारम्भिक उद्देश्य स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकास गर्नु रहेको दाबी गरे। पछिल्लो समय योगलाई ईश्वरवादसँग जोडेर व्याख्या गरिएको उनको भनाइ थियो।
अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, सत्य बोल्न, शान्तिको बाटोमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उनले बताए। यी मान्यता न्यायपूर्ण र मानवीय समाज निर्माणको सोचसँग मेल खाने उनको भनाइ थियो।
कार्यक्रममा ओलीले प्रतिष्ठानलाई नयाँ खोज–अनुसन्धानसँगै रैथाने ज्ञान, सीप र परम्पराको अध्ययनमा ध्यान दिन आग्रह गरे।

सम्बन्धित खबर











