

पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न मंसिर महिनाभर देशव्यापी संवाद अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन्।
पोखरामा मंगलबार आयोजित कार्यक्रममा थापाले विगतमा कांग्रेससँग जोडिएका तर पछिल्लो समय मतदान नगरेका नागरिकका घरमै पुगेर गुनासा सुन्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। मतदातालाई दोष दिनुभन्दा उनीहरू पार्टीबाट टाढिनुको कारण खोज्नुपर्नेमा उनले जोड दिए।
१५औँ महाधिवेशनपछि कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको उल्लेख गर्दै उनले विगतका कामको चर्चा मात्र गरेर नपुग्ने बताए। वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धता र व्यवहारसहित जनतामाझ जानुपर्ने उनको भनाइ थियो।
थापाले पार्टीका संरचनामा चार पुस्ताको उचित प्रतिनिधित्व आवश्यक रहेको पनि बताए। आगामी स्थानीय तह निर्वाचनमा महिला, विभिन्न जातजाति, भाषाभाषी र समुदायलाई पर्याप्त अवसर दिनुपर्ने उनले उल्लेख गरे।
स्थानीय तहका उम्मेदवार छनोटमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यको निर्णायक भूमिका रहने उनले बताए। पोखरा महानगरपालिकाको उम्मेदवार पोखराकै सदस्यले तथा अन्य क्षेत्रका उम्मेदवार सम्बन्धित क्षेत्रकै सदस्यले छान्ने व्यवस्था रहेको उनको भनाइ थियो।
नेताको स्वागतमा तामझाम गर्ने, सवारीसाधनको लामो लस्कर लगाउने र सर्वसाधारणबाट टाढा रहने शैली बदल्न पनि थापाले आग्रह गरे। जनताले सहजै भेट्न र आफ्ना कुरा राख्न सक्ने व्यवहार विकास भएपछि मात्रै पार्टीमा परिवर्तन आएको अनुभूति हुने उनले बताए।

सम्बन्धित खबर











