Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

चक्रवात ‘अर्नव’को प्रभाव बिहीबारदेखि, किसान र पर्यटन क्षेत्रलाई सतर्क रहन सुझाव

Advertisement800×200-1

चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। बंगालको खाडीमा विकसित चक्रवातले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी, मेघगर्जन र चट्याङ तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता विभूति पोखरेलका अनुसार चक्रवातको मार्ग र गति अझै निश्चित भएको छैन। मध्य र पूर्वी नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्छ।

मध्य र पूर्वी तराईमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ भने सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा शुक्रबार बेलुका र शनिबार असिना पनि पर्न सक्छ। लामो समय वर्षा नभएका स्थानमा एकैपटक ठूलो वर्षा हुँदा पहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त सडक तथा क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन पोखरेलले आग्रह गरे। उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको सम्भावना भएकाले पदयात्रालगायत पर्यटकीय गतिविधिमा पनि सतर्कता आवश्यक रहेको उनले बताए।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कृषि मौसमविद् रामेश्वर रिमालले क्षति कम गर्न किसानलाई पूर्वतयारी गर्न आग्रह गरेका छन्। पाकिसकेको धान काट्न मिल्ने अवस्था भए उपलब्ध मेसिन तथा साधन प्रयोग गरी सुरक्षित रूपमा भित्र्याउनुपर्ने तर मौसमको अवस्था हेरेर मात्र काम गर्नुपर्ने उनको सुझाव छ। तराईमा हावाहुरीले पाकेको धान ढल्ने जोखिम रहेकाले धानखेतमा पानी जम्न नदिन निकासको व्यवस्था मिलाउन उनले आग्रह गरे।

धान ढलेमा लामो समय खेतमै नछाड्ने र पानीमा डुबेको बाली मौसम सुध्रिएपछि सकेसम्म चाँडो उठाएर सुकाउनुपर्ने उनले बताए। काटिसकेको धान भिजे आलीकान्ला वा बाँसका भाटाको सहायताले पानी तर्काएर सुकाउन सकिन्छ। चक्रवातको सम्भावित प्रभाव रहने अवधिमा मल तथा विषादी छर्ने काम स्थगित गर्न रिमालले आग्रह गरे। वर्षाले मल र विषादी बगाएर लैजाने र बालीले पोषण लिन नपाउने भएकाले मौसम सुध्रिएपछि मात्र प्रयोग गर्नु उचित हुने उनले बताए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर