गत भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा अचानक आएको बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीका कारण विभिन्न जलविद्युत् आयोजना र पूर्वाधारमा नराम्ररी असर परेको छ। ती दुई नदीका किनारका स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अधिकांश स्थानमा विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाइएको जनाएको छ। तर, स्थानीय बासिन्दाहरूले बेलाबेलामा बिजुली जाने र आपूर्ति भएका बेला पनि कहिलेकाहीँ भोल्टेज कम हुने समस्या देखिएको गुनासो गरेका छन्। यस सन्दर्भमा ‘बीबीसी हातेमालो’का प्रतीक्षा खनालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यलाई प्रभावित क्षेत्रमा विद्युत् आपूर्तिको अवस्था कस्तो छ भनेर सोधेकी छन्।