Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सरकारले राजनीतिक प्रतिशोध राखेको एमाले महासचिव पोखरेलकाे आरोप

Advertisement800×200-1

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन् । उनले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै असन्तुष्टि व्यक्त गरे। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको संवैधानिक व्यवस्थामाथि खलल पु¥याउने असामान्य घटनाका रूपमा व्याख्या गरे। उनले उक्त घटनापछि मुलुक प्रतिगमनतर्फ गएको एमालेको विश्लेषण प्रस्तुत गरे।

फागुन २१ गते सम्पन्न निर्वाचन पनि असामान्य परिस्थितिमा भएको उल्लेख गर्दै उनले निर्वाचनबाट प्राप्त जनादेशलाई एमालेले सम्मान गरेको स्पष्ट पारे। तर निर्वाचनपछि गठन भएको सरकारले लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक व्यवस्था र कानुनी प्रक्रियाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। पोखरेलले सरकार राजनीतिक प्रतिशोधका आधारमा अघि बढेको आरोप लगाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्रीलाई तथ्य तथा प्रमाणबिनै गिरफ्तार गरिएको दाबी गरे।

उनले भने, “सरकारसँग आरोप पुष्टि गर्ने पर्याप्त आधार छैन।” सुनसरीमा गोली चलेर मानिसको मृत्यु भएको घटनालाई उल्लेख गर्दै उनले विगतमा यस्तै प्रकृतिका घटनामा एमाले अध्यक्ष र तत्कालीन गृहमन्त्रीलाई जिम्मेवार ठह¥याउन खोजिएको भए अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले पनि त्यसको जिम्मेवारी लिनुपर्ने बताए।

पोखरेलले वर्तमान सरकारको कार्यशैली लोकतान्त्रिक चरित्रविपरीत रहेको आरोप लगाउँदै विद्यार्थीलाई कलेजमा गतिविधि गर्न रोक लगाउने, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास गर्ने तथा निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयको आलोचना गरे। उनले विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक परिवर्तनको जग बसालेको स्मरण गराउँदै विद्यार्थी र श्रमिक संगठनका गतिविधि नियन्त्रण गर्ने प्रयासले लोकतान्त्रिक अधिकार कमजोर बनाउने बताए।

पत्रकार सम्मेलनमा पोखरेलले एमालेको पछिल्लो निर्वाचन परिणामबारे पार्टीभित्र समीक्षा भइरहेको जानकारी दिए। उनले निर्वाचनमा पार्टीले व्यहोरेको परिणाम अस्वाभाविक रहेको स्वीकार गर्दै सचिवालय बैठकबाट कार्यदल गठन गरिएको र कार्यकर्ताबाट सुझाव संकलन गरिएको बताए। उनका अनुसार कार्यदलले ४० बुँदे सुझावसहित सर्वसम्मत प्रतिवेदन तयार गरेको छ।

पोखरेलले भने, “पार्टीले निर्वाचनको परिणामको समीक्षा गर्दै कार्यदल गठन गरी कार्यकर्ताका सुझावका आधारमा ४० बुँदे प्रतिवेदन तयार गरेको छ।” उनले आगामी राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई पुनः जनतामाझ स्थापित गर्ने तथा पार्टी पंक्तिलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने उद्देश्य रहेको बताए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर