

भोटेकोशी-त्रिशूली बाढीमा बेपत्ताको मृत्युदर्ताका लागि प्रक्रिया सुरु


भोटेकोशी-त्रिशूली बाढीमा बेपत्ता भएका व्यक्तिहरूको मृत्यु दर्ताका लागि प्रक्रिया सुरु गरिएको छ। स्थानीय तहले विवरण सङ्कलन तीव्र बनाएका छन्। सरकारले अध्यादेशमार्फत् विपद्सम्बन्धी ऐनमा संशोधन गरेर स्थानीय तह र सम्बन्धित देशको नियोगबाट सिफारिसको आधारमा बेपत्तालाई मृतक घोषणा गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले वडा कार्यालयमार्फत् सङ्कलित विवरणका आधारमा बेपत्ताहरूको नाम चरणबद्ध रूपमा प्रकाशन गर्ने जनाएको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले तिहारअघि नै बेपत्ताहरूको पहिलो चरणको नामावली प्रकाशित गर्ने गृहकार्य भइरहेको जानकारी दिए। उक्त नामावलीमा एक सातासम्म दाबी विरोध नपरे निर्णयका लागि सरकारलाई पठाइने प्राधिकरणका प्रवक्ताले बताएका छन्। भदौ १० गतेको बाढीमा रसुवा, नुवाकोट र धादिङका सबैभन्दा धेरै मानिसहरू बेपत्ता भएका थिए।
विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले भनिन्, “प्राधिकरणबाट पत्र आएपछि हामीले सूचना निकालेर वडा कार्यालयहरूबाट विवरण सङ्कलन गरिरहेका छौँ।” बेपत्ता व्यक्तिको परिवारका सदस्य नभएकाको अवस्थामा वडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा निवेदन पेस गर्नु पर्ने कार्यविधि बनाइएको छ।
प्राधिकरणले कार्यकारी समितिमार्फत् निर्णय गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउने प्रक्रिया अघि बढाएको छ। हालसम्म ५,२८५ जना बेपत्ता छन्, जसमा १,३४६ जना सनाखत नभएका छन्। भोटेकोशी बाढीपछि १,४५८ वटा शव फेला परे पनि ११२ शवको मात्रै पहिचान भएको छ।

सम्बन्धित खबर








