

युद्धयता मोज्तबा खामेनेईको सैन्य कमाण्डरसँग पहिलो बैठक, निर्देशन दिए


१५ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने आशङ्काबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले तीन प्रमुख सैन्य कमाण्डरसँग उच्चस्तरीय बैठक गरेका छन्। यो बैठक युद्ध सुरु भएयता घाइते भएका खामेनेई र इरानी सशस्त्र बलका शीर्ष कमाण्डरबीचको पहिलो प्रत्यक्ष बैठक हो। बैठकमा उनले अमेरिका र इजरायलबाट हुन सक्ने कुनै पनि नयाँ आक्रमणको तत्काल र प्रभावकारी जवाफ दिन सेनालाई निर्देशन दिएका छन्। उनले भनेका छन्, “यस्तो जवाफ दिन कुनै भौगोलिक सीमा नहुनेछ।”
खामेनेईले शत्रुपक्षमाथि अधिकतम प्रतिरोध कायम गर्न सैन्य टोलीलाई निर्देशन दिएका छन्। उनले कमाण्डरहरूलाई भनेका छन्, “यदि शत्रुहरूले फेरि सैन्य वा आतङ्कवादी हमला गरे भने त्यस्ता कारबाही कहिले र कुन सर्तमा अन्त्य हुन्छन् भन्ने निर्णय इरानी सशस्त्र बल र जनताले नै गर्नेछन्।” बैठकमा सशस्त्र बलका चिफ अफ स्टाफ जनरल अली अब्दुल्लाही, थलसेनाध्यक्ष मेजर जनरल अमिर हातामी र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमाण्डर मेजर जनरल अहमद वाहिदी सहभागी थिए।
बैठकमा खामेनेईले इरानी सेनाको पहुँचभित्र ल्याउन सम्भावित निशानाको सूची (टार्गेट बैंक) अद्यावधिक गर्न निर्देशन दिएका छन्। दोहामा १२ घण्टाभन्दा लामो कूटनीतिक वार्ता कतारी मध्यस्थकर्ताहरूले तेहरानमा गरिसकेपछि खामेनेई र सैन्य कमाण्डरबीचको बैठकको जानकारी सार्वजनिक भएको हो। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवलाई पठाएको पत्रमा परमाणु मुद्दामा वार्ता गर्न अमेरिका तयार रहेको सन्देश दिएका थिए। इरानका विदेशमन्त्री अब्बास अरागचीले अल जजिरासँग कुरा गर्दै अमेरिकाले वार्ताका लागि गरेको कूटनीतिक पहललाई सकारात्मक कदम भनेका छन्।
अरागचीका अनुसार इरानका कडा सर्त अनुसार हर्मुज जलमार्ग पुनः खोलिएमा परमाणु मुद्दामा दुई देशबीच प्रत्यक्ष वार्ताको वातावरण बन्न सक्छ। अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा कूटनीतिक सम्झौताको प्रयास भइरहेको छ भने दुवै पक्षले एकअर्कालाई चेतावनी दिइरहेका छन्। यसले मध्यपूर्वको अवस्थालाई थप तनावपूर्ण बनाएको छ।

सम्बन्धित खबर









