Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मुरासु चक्रवात: ‘नेपालमा असर गर्दैन, ढुक्कले धान काट्नुस्’

Advertisement800×200-1

अर्णवपछि बङ्गालको खाडीमा विकसित भइरहेको मुरासु नाम दिइएको चक्रवातले नेपालमा पनि आशङ्का उत्पन्न गरेको देखिन्छ तर मौसमविद्हरूले ढुक्क रहन आग्रह गरेका छन्। चक्रवात अर्णवको प्रभाव सकिँदा नसकिँदा नेपालमा अर्को चक्रवात मुरासुको चर्चाले आशङ्का निम्त्याएपछि उनीहरूले आश्वस्त पारेका हुन्। उक्त चक्रवात पनि अर्णवजस्तै बङ्गालको खाडीमा विकास भएको छ। भारतको मौसम विज्ञान विभागले त्यसलाई लिएर चेतावनीयुक्त सतर्कता जारी गरेको छ। त्यसैले अर्णवका कारण नेपालमा परेको असर अन्त्य हुँदा नहुँदै फेरि मौसम प्रतिकूल हुने चिन्ता बढेको देखिन्छ।

“धेरै चासो र सोधपुछपछि नै हामीले पनि मुरासु चक्रवातबारे अद्यावधिक दिएका हौँ,” नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्। “मानिसहरू नआत्तिउन् भनेर राखेका हौँ, त्यसले नेपालमा केही असर गर्दैन।” त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार बङ्गालको खाडीको नयाँ प्रणाली नेपाल आउने सम्भावना न्यून छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “किसानले स्थानीय मौसम हेरेर धान काट्न सक्नुहुन्छ।” जल तथा मौसम विज्ञान विभागले पनि मुरासु विशेष मौसम बुलेटिन जारी गरेको छ।

यसअघि नेपाल कृषि अनुसन्धान परिषद् नार्क र मौसम अधिकारीहरूले अर्णव चक्रवातको प्रभावबारे चेतावनी जारी गर्दै किसानहरूलाई मङ्गलवारपछि धान नकाट्न सचेत गराएका थिए। विभागकी प्रवक्ता पोखरेलले अलिअलि अहिले बादल आए पनि केही असर नगर्ने बताउँछन्। “अर्णव चक्रवातको प्रभाव पनि पश्चिमबाटै गइसक्यो,” उनले भनिन्, “मज्जासित धान काट्दा हुन्छ।” अधिकारीहरूले अर्णवको प्रभाव सकिएपछि धान काट्न सकिने बताएका थिए, त्यसैले अब त्यो जोखिम नरहेकाले किसानहरूले धान बाली काटेर भित्र्याउन सकिने जनाएका हुन्।

मौसम विज्ञान विभागले मुरासु मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। विभागकी प्रवक्ता पोखरेलका अनुसार बङ्गालको खाडी वा अरब सागरमा बन्ने मौसमी प्रणाली र चक्रवात तथा पश्चिमी वायुको प्रभाव देखिन सक्छ। “तर तत्काल मौसम प्रतिकूल हुने कुनै पनि सङ्केत छैन,” उनले बताइन्। भारतको मौसम विज्ञान विभागले आइतवार मुरासु चक्रवातबारे जानकारी सार्वजनिक गरेको छ। उसका अनुसार सोमवार बिहानतिर उक्त मौसमी प्रणाली तीव्र हुने प्रबल सम्भावना छ र त्यसपछि त्यो उत्तर पश्चिमतिर सर्ने छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर