Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

फ्लोरिडा विमान दुर्घटना: आकाशबाट तीव्र गतिमा खसेको जेट सडकमा जोतिँदा ९ जनाको मृत्यु

Advertisement800×200-1

संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा आइतवार एउटा जेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको अमेरिकाका यातायातमन्त्रीले बताएका छन्। उक्त दुर्घटना पाम बीच काउन्टीको क्रेस्टहेभन नजिकै स्थानीय समयानुसार १२:५० ईएसटीमा भएको हो। सो स्थान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको रिसोर्ट मार-ए-लागोबाट १४ किलोमिटर टाढा छ। दुर्घटनापछि खिचिएको तस्बिरमा एउटा आवासीय क्षेत्रको सडकमा खाडल परेको, आगोका लप्काहरू अनि कङ्क्रिटका टुक्राहरू र ‘लिअरजेट ६०’ विमानका भग्नावशेष छरिएको देखिन्छ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) का अनुसार उक्त विमान टेक्ससको अस्टिनबाट बहामसका लागि उडेको थियो। अमेरिकी सञ्चारमाध्यममा प्रकाशित विवरणहरू र उडान विश्लेषणका अनुसार जमिनमा दुर्घटनाग्रस्त हुनुअघि उक्त विमान तीव्र गतिमा झरेको देखिएको थियो। विमानचालकले के भने बीबीसीको अमेरिकी सहयात्री सीबीएस न्यूजका अनुसार दुर्घटना हुनुभन्दा केही समयअघि रेकर्ड गरिएको एअर ट्राफिक कन्ट्रोलको अडिओमा विमान प्रतिमिनेट १०,००० फीटको गतिमा तल झर्दै गरेको बताएको सुन्न सकिन्छ। “हामी ‘ओभरस्पीड’को स्थितिमा छौँ र प्रतिमिनेट २०,००० फीटको गतिमा तल झर्दै छौँ,” त्यसपछि आपत्कालीन स्थिति घोषणा गर्दै उनले चिच्याएको सीबीएसले जनाएको छ।

सामाजिक सञ्जालमा प्रेषित नगरिएको तर आधिकारिकता पुष्टि नगरिएको भिडिओमा दुर्घटना हुँदाको क्षणको दृश्य देखिन्छ। ड्याश क्यामराबाट खिचिएको जस्तो उक्त भिडिओमा आवासीय क्षेत्रको सडकमा सवारीसाधनहरू गुडिरहेका बेला एउटा विमान जमिनमा झन्डैझन्डै ठाडो गरी जोतिएको र त्यसपछि ठूलो आगोको मुस्लो निस्किने गरी विस्फोटन भएको देखिन्छ। फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले पत्रकार सम्मेलनमा उक्त भिडिओलाई “विचलित पार्ने खालको” भएको बताए। “यो आकाशबाट क्षेप्यास्त्र खसेको जस्तो, ठूलो विस्फोट भएको र चारैतिर भग्नावशेष छरिए जस्तै देखिन्छ।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर