

कार्ल बुशबीको २८ वर्षको साहसिक यात्रा अब अन्त्यमा


आफ्नो यात्रा लगभग पूरा हुनै लाग्दा कार्ल बुशबीले चार महादेशहरू कटाउने आफ्ना साहसिक अनुभव, यस क्रममा बिग्रिएका सम्बन्ध र आफ्नो जीवनमा आउन लागेको ठूलो परिवर्तनबारे सोचिरहेका छन्। सन् १९९८ मा २९ वर्षका पूर्व प्याराट्रुपर कार्लले चिलेको पुन्टा एरेनासबाट आफ्नो गृह नगर ‘हल’सम्म पैदल यात्रा सुरु गरेका थिए। उनले यसका लागि दुई वटा कडा नियम बनाएका थिए: यात्रा पूरा नभएसम्म ब्रिटेन नफर्कने र अघि बढ्नका लागि कुनै पनि सवारी साधनको प्रयोग नगर्ने। अहिले ५७ वर्ष पुगेका उनी आफ्नो यात्राको अन्तिम चरणमा छन्। यसबीचमा उनले डारिएन ग्यापको घना जङ्गल छिचोलेका छन्। बरफले ढाकिएको बेरिङ स्ट्रेट काटेका छन्। र केही साताअघि मात्रै ‘इङ्लिस च्यानल’ पौडिएर पार गरेका छन्।
यात्राको अन्त्यमा उनलाई भेट्न उनका ३६ वर्षीय छोरा एडम, १२ वर्षीया नातिनी (जसलाई उनले अहिलेसम्म भेटेका छैनन्), तथा उनका बुबा र दाजुभाइहरू आउने छन्। बुशबीकी आमा भने उनले बाल्यकाल बिताएको घरमा पर्खिरहेकी हुनेछिन्, त्यही घर, जहाँबाट उनी २८ वर्षअघि निस्किएका थिए। “हामी अहिले पक्कै पनि टेरा इन्कग्निटा (एउटा अज्ञात क्षेत्र)मा छौँ वा छिट्टै नै त्यस्तो अवस्थामा पुग्नेछौँ,” एउटा लिङ्कनशरको एउटा गाउँमा भेट्दा बुशबीले मलाई भने। “यतिखेर म सहज महसुस गरिरहेको छु किनकि म आफ्नो नियमित काम गरिरहेको छु। तर छिट्टै नै यो काम हठात् रोकिने वाला छ।”
ठ्याक्कै ‘द बिस्ट’जस्तै, जुन बुशबीको निकै बलियो र गह्रुँगा सामान बोक्ने गाडी हो। यो यात्राको खण्ड सुरु भएको केही माइलमै बुशबीको हातेगाडाको टायर पङ्चर हुन्छ। त्यसमा उनले अत्यावश्यक सामानहरू बोक्छन्। “धेरै पछि यस्तो समस्या आइलाग्यो,” उनी भन्छन्। “धत्! यो त निकै झन्झटिलो हुने भयो।” सडकछेउमै त्यसलाई हतार-हतार मर्मत गर्न खोजिरहँदा उनले एकपटक मुस्कुराउँदै थपे: “यदि पानी परिरहेको हुन्थ्यो भने म सायद अझ बढी गुनासो गरिरहेको हुन्थें होला।”

सम्बन्धित खबर








