

सगरमाथा क्षेत्रमा अवतरण गर्न लागेका दुई हेलिकप्टर ठोक्किए


सगरमाथा आधारशिविर नजिकै रहेको फेरिचे गाउँमा अवतरण गर्न लागेका दुई हेलिकप्टरहरू ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिएका छन्। सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पनि उक्त घटनामा एक विदेशी यात्रुको मृत्यु भएको पुष्टि गरे, तर उनको राष्ट्रियता खुल्न बाँकी छ। “अर्का एक घाइतेलाई हेलिकप्टरबाट लुक्ला ल्याइपुर्याइएको छ,” थापाले भने।
प्राधिकरणका अनुसार बिहान ८:१५ बजेतिर उक्त दुर्घटना भएको थियो। “लुक्लाबाट जाँदै गरेको र आधारशिविर नजिकैको गोरक्सेपबाट फर्कँदै गरेका हेलिकप्टरहरू एकैठाउँ अवतरण गर्न खोज्दा दुर्घटना भएको देखिन्छ,” भुलले भने। दुर्घटनाको स्पष्ट कारण भने खुलिसकेको छैन। “त्यहाँ अन्य हेलिप्याड पनि भए पनि सायद हिउँले पुरिएका कारण एउटामै अवतरण गर्न खोजे कि भन्ने जस्तो देखिएको छ।” प्राधिकरणले दुर्घटनामा परेका हेलिकप्टरहरू फिश्टेल एअर र एअर डाइनेस्टीका हुन्।
यतिखेर सगरमाथा क्षेत्रमा आमादब्लम हिमालमा आरोहण गर्ने क्रम चलिरहेको छ। शरद्याम उक्त क्षेत्रमा पदयात्राका लागि समेत लोकप्रिय छ। सगरमाथा आधारशिविरसम्म हेलिकप्टरमा पुग्दै बीचका गाउँमा छोटो समय ‘ब्रेकफास्ट’का लागि रोकिने प्याकेजहरू समेत त्यस क्षेत्रमा चल्तीमा पाइन्छ।

सम्बन्धित खबर








