

अमेरिकी चुनाव: ट्रम्पको मतगणना रोक्ने निवेदन सर्वोच्च अदालतले अस्वीकार गर्यो


अमेरिकी सर्वोच्च अदालतले क्यालिफोर्नियामा दर्ता भएका २० हजारभन्दा बढी मतदाताहरूका हुलाकमार्फत् प्राप्त मत पत्रहरूको गणना रोक्न ट्रम्प प्रशासनले दिएको निवेदनलाई अस्वीकार गरेको छ। सरकारले ती मतदाताहरू अमेरिकी नागरिक नभएको दाबी गरे पनि क्यालिफोर्नियाले यति ढिलो अवस्थामा हस्तक्षेप गर्दा अस्तव्यस्तता निम्तिने भनेको थियो। अन्यत्र लाखौँ अमेरिकीहरूले त्यसरी मतदान गरिसकेका छन्। जोर्जियामा त मध्यावधि निर्वाचनसम्बन्धी नयाँ कीर्तिमान नै कायम हुने क्रममा कुल दर्ता भएका मतदाताहरूमध्ये एक तिहाइले आफ्नो मत खसालिसकेका छन्।
यसैबीच, एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनले तयार पारेका सूचीहरू त्रुटिपूर्ण रहेको फैसला सुनाएका छन्। न्यायाधीश जेम्स बोआसबर्गले नागरिकता प्रमाणीकरणका लागि कुन प्रक्रिया अपनाउने भन्ने निर्णय गर्ने अधिकार क्यालिफोर्नियाकै भएको पनि बताएका छन्। संवाददाताहरू क्यालिफोर्नियासँग सम्बन्धित यो घटनाक्रम मङ्गलवार हुने मतदानको नतिजाप्रति आशङ्का उब्जाउने ट्रम्प प्रशासनको अर्को प्रयासजस्तो देखिने बताउँछन्।
ट्रम्पका आरोपराष्ट्रपति ट्रम्पले मतदाता जालसाजीयुक्त रहेको र डेमोक्र्याटहरूले आप्रवासीहरूलाई अवैध रूपमा मतदान गर्न अनुमति दिएर चुनाव आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको बारम्बार दाबी गर्दै आएका छन्। उनले त्यस्तो धेरैजसो डेमोक्र्याटिक राज्यहरूमा अनुमति दिइएको ‘मेल-इन’ भनिने हुलाकबाट हुने मतदानमा भएको आरोप लगाएका छन्। क्यालिफोर्नियामा करिब २ करोड ६० लाख मानिसहरू योग्य मतदाताका रूपमा छन्।
महँगो प्रचार अभियान अमेरिकी मध्यावधि चुनावको प्रचार अभियान सकिँदै गर्दा यसलाई अहिलेसम्मकै सबैभन्दा महँगो अभियान बताइएको छ। चुनावमा दुवै दलले अर्बौँ डलर खर्च गरेका छन् जहाँ रिपब्लिकनहरूले अमेरिकी सदन कङ्ग्रेसमा आफ्नो नियन्त्रण कायम राख्ने प्रयास गरिरहेका छन् भने डेमोक्र्याटहरूले उनीहरूलाई उछिन्न खोजिरहेका छन्। अक्टोबरको मध्यसम्मको सङ्घीय निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार यस मध्यावधि निर्वाचन चक्रमा ९.५ अर्ब अमेरिकी डलरभन्दा बढी रकम खर्च भएको छ।
सर्वेक्षणहरूले डेमोक्र्याटहरूको बलियो प्रदर्शनको भविष्यवाणी गरिरहेका छन् जसले जीवनयापनको बढ्दो लागत र कथित सरकारी भ्रष्टाचारजस्ता मुद्दाहरूलाई लिएर चुनावी प्रचार गरेका छन्। हाल राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीको कङ्ग्रेसका दुवै सदन – सीनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा नियन्त्रण छ। डेमोक्र्याटहरू बहुमत हासिल गर्नका लागि पर्याप्त सीटहरू आफ्नो पक्षमा पार्ने आशा गरिरहेका छन्।

सम्बन्धित खबर








