Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

स्वदेशी फूल प्रवर्द्धनमा सरकारको प्रतिबद्धता, नर्सरी व्यवसायका लागि भूमि बैंक ल्याउने तयारी

Advertisement800×200-1

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी फूलको उत्पादन र बजार विस्तार तथा नर्सरी व्यवसायको विकासका लागि सरकारले आवश्यक नीतिगत र प्राविधिक सहयोग गर्ने बताएकी छन्। नर्सरी व्यवसायी संघ नेपालले मंगलबार आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिइन्। व्यवसायीले भोग्दै आएको जग्गा अभाव सम्बोधन गर्न सरकारले कानुनमार्फत भूमि बैंकको अवधारणा अघि बढाउन लागेको पनि उनले जानकारी दिइन्। तिहार उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनीले स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन सहयोग गर्ने उनको भनाइ थियो।

मन्त्री चौधरीले नर्सरी व्यवसायलाई उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनको असर न्यूनीकरणसँग जोडेर अघि बढाउनुपर्ने बताइन्। यस क्षेत्रमा युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै उनले रैथाने फूल र नेपालमै उत्पादित बिरुवाको बजारीकरणलाई प्राथमिकता दिन आग्रह गरिन्। मन्त्रालयले सम्बन्धित निकायमार्फत नर्सरी व्यवस्थापन, गुणस्तर नियमन, प्राविधिक सहयोग र तालिमका कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिइन्। गुणस्तरीय नर्सरी स्थापना, अनुदान तथा फलफूलका बिरुवा वितरणका कार्यक्रम पनि अघि बढिरहेको उनको भनाइ थियो।

कार्यक्रममा नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले सरकारी स्वामित्वमा रहेका खाली जग्गा भाडामा प्रयोग गर्न व्यवसायीलाई उपलब्ध गराउन माग गरे। उनले सहरी क्षेत्रमा नर्सरी बजार स्थापना गर्न र सातै प्रदेशमा मेला, प्रदर्शनी तथा तालिम सञ्चालन गर्ने नीति बनाउन सरकारको ध्यानाकर्षण गराए। तिमिल्सिनाले सयपत्री फूलमा आत्मनिर्भर बन्न आयात रोक्नुपर्ने सुझावसमेत दिए। भौगोलिक अनुकूलताअनुसार खाली जग्गामा फूल, फलफूल र जडीबुटीको व्यावसायिक खेती विस्तार गर्दै उत्पादित वस्तुको बजार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। ‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारासहित सुरु भएको एक्स्पो कात्तिक २१ गतेसम्म चल्नेछ। पाँचदिने मेलामा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका उत्पादन प्रदर्शनी र बिक्रीमा राखिएका छन्। संघकी उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनका अनुसार एक्स्पोमा व्यावसायिक, सरकारी, संघका आधिकारिक र प्रतिस्पर्धात्मक गरी ७३ वटा स्टल छन्। मेलामा ३५ हजार अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ। महर्जनले आर्थिक मन्दीबाट प्रभावित नर्सरी व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै लगानी, रोजगारी र नयाँ उद्यमशीलताको सम्भावना उजागर गर्नु एक्स्पोको उद्देश्य रहेको बताइन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर