

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ। मंगलबार काठमाडौंमा आयोजित एकता घोषणा कार्यक्रममा दुई पार्टीबीच १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिपत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका लागि कम्युनिस्ट आन्दोलनको बृहत् एकीकरण आवश्यक रहेको उल्लेख छ।
एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने सहमति भएको छ। तत्कालीन कार्यनीतिका रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय र रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने लक्ष्य राखिएको छ।
दुई पार्टीले आन्दोलन मूलतः शान्तिपूर्ण हुने जनाएका छन्। समय र परिस्थितिअनुसार आन्दोलनका विभिन्न रूप अपनाउने तथा सडक, संसद् र सरकारलाई राजनीतिक संघर्षका मोर्चाका रूपमा उपयोग गर्ने सहमतिपत्रमा उल्लेख छ।
संगठनात्मक एकता तथा समायोजनको काम आगामी मंसिर मसान्तभित्र सम्पन्न गर्ने सहमति भएको छ। केन्द्रीय समिति, कार्यसमिति, सचिवालय, कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायसँगै सबै तहका पार्टी समिति र जनसंगठनमा सहमतिका आधारमा समायोजन गरिनेछ। एकता राष्ट्रिय महाधिवेशन भने आगामी स्थानीय तहको निर्वाचनपछि आयोजना गर्ने तय भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमालेसहित सबै कम्युनिस्ट घटकलाई एकतामा आउन आह्वान गरे। विगतमा विभिन्न कम्युनिस्ट समूहलाई एकताबद्ध गर्ने प्रयास भएको स्मरण गर्दै उनले पछिल्लो एकतालाई त्यसैको नयाँ कडीका रूपमा व्याख्या गरे।
‘यो अन्तिम होइन। हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ,’ प्रचण्डले भने।
उनले केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्दलगायत नेताहरूलाई देशको आवश्यकता हेरेर एकताबद्ध हुन आग्रह गरे। विगतमा माओवादी र एमालेका विभिन्न धारामा रहेका समूहलाई एक ठाउँमा ल्याउन सोच र दृष्टिकोण फराकिलो बनाउनुपर्ने उनको भनाइ थियो।
नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले पनि राजनीतिक उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र वर्तमान संकटको सामना गर्न प्रचण्ड तथा माधवकुमार नेपालको नेतृत्वमा कम्युनिस्ट शक्तिहरू गोलबन्द हुनुपर्ने बताइन्।
जनयुद्ध र विभिन्न जनआन्दोलनबाट प्राप्त उपलब्धि कमजोर पार्ने प्रयास भइरहेको उनको आरोप थियो। त्यसको सामना गर्न कम्युनिस्टसँगै देशभक्त र लोकतन्त्रवादी शक्तिबीच पनि सहकार्य आवश्यक रहेको उनले बताइन्।
भुजेलले कम्युनिस्ट आन्दोलनको घट्दो जनसमर्थनबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिइन्। विगतमा ठूलो जनमत र दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरेका कम्युनिस्टहरू अहिले कमजोर अवस्थामा पुगेको भन्दै उनले नेतृत्व र संगठनको रूपान्तरण आवश्यक रहेको बताइन्।
पार्टीको आकार बढाउनुका साथै कार्यशैली र संगठनमा सुधार गर्नुपर्ने उनको भनाइ थियो। ‘ठूलो पार्टी पनि बनाउने, राम्रो पनि भएपछि समाजवादमा पुग्ने उद्देश्यसहित एकता गर्न जरुरी छ,’ उनले भनिन्।

सम्बन्धित खबर











