Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भारतीय विदेश सचिव मिश्री भोलि नेपाल आउने, प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे छलफल हुने

Advertisement800×200-1

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि भोलि बुधबार काठमाडौं आउने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला मिश्री नेपाल आउन लागेका हुन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा आउन लागेका मिश्री बिहीबार स्वदेश फर्कने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उनको भ्रमणबारे औपचारिक जानकारी दिएको हो।

काठमाडौं बसाइका क्रममा मिश्रीले परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामको समीक्षा तथा आपसी हितका विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ। मिश्रीको भ्रमणका क्रममा प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे पनि छलफल हुने निकट स्रोतले जनाएको छ। उनले उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने बताइएको छ।

यद्यपि, परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सचिवस्तरीय द्विपक्षीय वार्ताबारे मात्र उल्लेख गरिएको छ। प्रधानमन्त्री शाह मंसिरको पहिलो साता भारत भ्रमणमा जाने चर्चा भए पनि भ्रमणको मिति र विस्तृत कार्यतालिका औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन। मिश्रीको काठमाडौं भ्रमणले उच्चस्तरीय भ्रमणको तयारी अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भारतीय विदेश सचिवको भ्रमण तय गरिएको हो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर