Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपालमा क्रिप्टोकरेन्सीको अवैध कारोबार : साढे तीन महिनामा सवा २ अर्ब रुपैयाँको कारोबार

Advertisement800×200-1

नेपालमा चालु आर्थिक वर्ष २०८३/०८४ को साढे तीन महिनामा सवा दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सीको अवैध कारोबार भएको पाइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार पाँच वटा घटनामा सो रकम बराबरको कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एक पुरुषलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।
केन्द्रीय बैंकका एक भूतपूर्व कार्यकारी निर्देशकले पछिल्लो समय विश्वभरि क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पृष्ठभूमिमा नेपालले मौजुदा नीतिबारे पुनर्विचार गर्नुपर्ने सुझाव दिएका छन्। नेपालमा क्रिप्टोकरेन्सीको ‘माइनिङ’ र कारोबार अवैध भए पनि बदलिँदो परिवेशमा नियन्त्रण गर्न सहज नभएको नरबहादुर थापाको तर्क छ।
नेपालमा विसं २०७४ सालयता क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई अवैध करार गरिएको अधिकारीहरूले बताउँछन्। क्रिप्टोलगायतका डिजिटल मुद्राका सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ (२) मा अभौतिक (भर्चुअल) मुद्रा प्रयोगसम्बन्धी कसुर भनेर त्यसलाई गैरकानुनी मानिएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रतिवेदनले प्रतिबन्धका बावजुद नेपालमा क्रिप्टोकरेन्सीको कारोबार बढेको जनाएको छ। सन् २०१९ देखि सन् २०२४ को अवधिमा क्रिप्टोकरेन्सीको कारोबार उल्लेख्य रूपमा बढेको पाइएको थियो। प्रहरी प्रवक्ता काफ्लेका अनुसार चालु आर्थिक वर्षको साढे तीन महिनामा २ अर्ब २७ करोड रुपैयाँ बराबरका पाँच वटा मुद्दा दर्ता भएका छन्।
क्रिप्टोकरेन्सी कारोबारका लागि ब्याङ्किङ प्रणालीको प्रयोग नगरी डिजिटल वालेटहरूको प्रयोग गर्ने गरिएको पाइएको छ। पछिल्ला वर्षमा नेपालीहरूको उपस्थिति संसारभरि फैलिँदै जाँदा विश्वले दिने अवसरबाट लाभ लिने पहुँच र इच्छा बढेको थापाले बताउँछन्।
क्रिप्टोकरेन्सी भनेको ‘भर्चुअल’ मुद्रा हो, जसको अस्तित्व अनलाइन माध्यममा सीमित छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर