

भारतीय विदेशसचिव विक्रम मिस्रीको नेपाल भ्रमण, प्रधानमन्त्री बालेनलाई भेट्ने तयारी


भारतका विदेशसचिव विक्रम मिस्री बुधवार र बिहीवार काठमाण्डूमा उच्चस्तरीय भेटघाटमा व्यस्त हुने जानकारी प्राप्त भएको छ। गत वर्ष नेपालमा भएको आमनिर्वाचनपछि छिमेकी भारतबाट नेपाल भ्रमण गर्ने उनी सबैभन्दा उच्च अधिकारी हुन्। नेपालको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निम्तोमा भारतीय समकक्षी मिस्रीको नेपाल भ्रमण हुन लागेको हो।
“परराष्ट्रसचिवसँग विदेशसचिवको बुधवार दिउँसो द्विपक्षीय भेटघाट र छलफल हुनेछ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “भ्रमणका क्रममा उच्चस्तरीय अन्य भेटघाटहरू गरेर बिहीवार स्वदेश फर्किने कार्यक्रम छ।” भारतीय विदेश मन्त्रालयले पनि आफ्ना विदेश सचिवले नेपालका अन्य उच्च अधिकारीहरूसँग शिष्टाचार भेट गर्ने जनाएको छ।
प्रधानमन्त्री बालेनसँग मिस्रीको भेट हुने जानकारी प्राप्त भएको छ। केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नदिएपछि निर्धारण भइसकेको भ्रमण पनि मिस्रीले स्थगित गरेको खबरहरू सार्वजनिक भएका थिए। यस सन्दर्भमा अहिलेको भ्रमणलाई महत्त्वका साथ हेरेको पाइन्छ।
प्रधानमन्त्री बालेनको भारत भ्रमण मङ्सिरको पहिलो हप्ता हुने तयारी रहेको बताइन्छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले कार्तिक ११ गते आयोजित पत्रकार भेटघाटमा नेपालका प्रधानमन्त्रीलाई “भ्रमणको निमन्त्रणा गरिसकेको” बताएका थिए। जानकारहरूका अनुसार मिस्रीको यो भ्रमणको मुख्य ध्येय नै प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमण सुनिश्चित गर्नु हो।

सम्बन्धित खबर








