

ग्राहकको प्राथमिकतामा अनलाइन सपिङ, अस्ट्रेलियाको पुरानो डिपार्टमेन्ट स्टोर संकटमा


अस्ट्रेलियाको १८८ वर्ष पुरानो डिपार्टमेन्ट स्टोर चेन डेभिड जोन्स प्रशासनमा गएको छ। डेभिड जोन्समा करिब ६,००० कर्मचारी कार्यरत छन्, र प्रशासनमा गएसँगै उनीहरूको रोजगारी जोखिममा परेको छ। स्वैच्छिक प्रशासक म्याकग्राथ निकोलले पुनरावलोकन नसकिँदासम्म डेभिड जोन्सका भौतिक र अनलाइन स्टोर सञ्चालनमा रहने बताएका छन्। १९ कात्तिक, काठमाडौं।
अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ। प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा परेको छ। स्थानीय रूपमा डीजेजका नामले चिनिने यो १८८ वर्ष पुरानो खुद्रा विक्रेता लामो समयदेखि आर्थिक सङ्घर्षसँग जुधिरहेको थियो। ग्राहकहरू पारम्परिक पसलहरू छोडेर अनलाइन सपिङतर्फ आकर्षित भएपछि कम्पनीलाई यो अवस्था आएको हो।
स्वैच्छिक प्रशासक म्याकग्राथ निकोलले रिसीभर एफटीआई कन्सल्टिङले कम्पनीको पुनरावलोकन नगरेसम्म डेभिड जोन्सका भौतिक तथा अनलाइन स्टोरहरू सञ्चालनमा रहने बताएका छन्। कम्पनीकी सीईओ एरिका बर्थोल्डले भनिन्, ‘डेभिड जोन्स एक प्रतिष्ठित कम्पनी हो र धेरै अस्ट्रेलियालीहरूको डीजेजका स्टोरहरूमा जाने आफ्नै कथा र सम्झनाहरू छन्।’ उनले ब्रान्डसँग ‘भविष्यका लागि व्यापारलाई पुनः सेट गर्ने राम्रो योजना’ रहेको पनि बताइन्।
डेभिड जोन्समा करिब ६,००० कर्मचारी कार्यरत छन् र यसका ३८ वटा भौतिक स्टोरहरू छन्, जसमा १७ वटा वेस्टफिल्ड सपिङ सेन्टरभित्रै छन्। बोर्डले प्रशासनमा जाने निर्णय गर्नुभन्दा केही घण्टा अगाडि, वेस्टफिल्डकी स्वामित्वकर्ता कम्पनी सेन्ट्रेले यस रिटेलरले अक्टोबर महिनाको भाडा नतिरेको र भाडा सम्झौता उल्लङ्घन गरेको बताएको थियो। रिसीभर एफटीआई कन्सल्टिङका क्रिस्टोफर हिलले भने, ‘हामी वर्तमान खुद्रा व्यापारको वातावरण, बढ्दो लागत, ठूलो र पुरानो खुद्रा संरचना तथा आपूर्ति शृङ्खलाका चुनौतीहरूले गर्दा यो अवस्था आएको बुझ्छौं।’

सम्बन्धित खबर









