

अयोध्या–जनकपुर रेल सेवा सञ्चालनको तयारी, १७ बोगीको रेल परीक्षणका लागि जनकपुरधाममा


जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म रेल सेवा सञ्चालनको तयारीअन्तर्गत बिहीबार १७ बोगीको भारतीय यात्रुवाहक रेल जनकपुरधाम आइपुगेको छ। हालको रेलमार्गमा बढी यात्रु क्षमताको रेल सञ्चालन गर्न सकिने अवस्था परीक्षण गर्न उक्त रेल ल्याइएको हो। नेपाल रेल्वेका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार भारतीय ईस्ट सेन्ट्रल रेल्वेले पठाएको रेलमा भारतीय रेल विभागका ६७ जना पदाधिकारी कुर्था स्टेसनसम्म आएका थिए। परीक्षणपछि रेल बिहीबार नै भारत फर्किने र प्राविधिक प्रतिवेदन सम्बन्धित निकायमा बुझाइने उनले जानकारी दिए।
अयोध्या–जनकपुरधाम रेल सञ्चालनको तयारीका लागि एक महिनादेखि नेपाल र भारतका रेल विभागका कर्मचारीहरूले अनुगमन तथा छलफल गर्दै आएका छन्। नेपालतर्फका रेल्वे स्टेसन र हल्टहरूको मर्मतसम्भार तथा सरसफाइ पनि भइरहेको पराजुलीले बताए। तयारी अघि बढे पनि नियमित सेवा सुरु हुने मिति भने तय भएको छैन। पराजुलीका अनुसार दुवै देशका रेल विभागबीच सम्झौतासहित केही प्रक्रिया पूरा हुन बाँकी छ। प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबाट रेल सेवाको संयुक्त उद्घाटन गराउने तयारी रहेको जनाइएको छ। यद्यपि, उद्घाटन र सेवा सञ्चालनको मिति निश्चित भइसकेको छैन।

सम्बन्धित खबर









