

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट जोखिममा परेको बजार क्षेत्र जोगाउन तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन्। नदी किनारमा भएको क्षतिको निरीक्षणपछि उद्योग वाणिज्य संघ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा उनले नागरिकको जीवन, बजारको अस्तित्व, ऐतिहासिक महत्त्व र व्यवसायीको सम्पत्ति संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उद्योग वाणिज्य संघले जोखिमबारे जानकारी गराएलगत्तै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको लामिछानेको भनाइ थियो। आवश्यक अध्ययन र योजना निर्माणका लागि टोली परिचालन भइसकेको तथा टोलीले काम अघि बढाएको उनले जानकारी दिए। कटानको समस्या समाधान गर्न तत्काल आवश्यक काम र दीर्घकालीन संरक्षणका उपाय सँगसँगै अघि बढाउनुपर्नेमा उनले जोड दिए।
तत्काल गर्नुपर्ने कामको अध्ययन लगभग तयार भइसकेको बताउँदै उनले पहिचान भएका योजनाका लागि स्रोत सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता जनाए। चितवनको समस्यालाई पनि अन्य प्रभावित क्षेत्रसरह आवश्यकताका आधारमा सम्बोधन गरिने लामिछानेले बताए। प्रभावित क्षेत्रको संरक्षणका लागि आवश्यक प्रक्रिया अघि बढ्ने भन्दै उनले सरोकारवालालाई आश्वस्त रहन आग्रह गरे।

सम्बन्धित खबर











