

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी र त्रिशूली क्षेत्रमा गएको बाढीपहिरोपछिको पुनर्निर्माणका लागि ४.७ देखि ५ अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा आयोजित संसदीय विशेष समितिको बैठकमा उनले स्रोत व्यवस्थापनका लागि सरकारले चरणबद्ध कार्ययोजना अघि बढाएको जानकारी दिए। उनका अनुसार विपद्बाट भएको भौतिक तथा आर्थिक क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत बराबर छ।
वाग्लेले बाढीपहिरोबाट २.७ देखि २.८ अर्ब डलर बराबरको क्षति भएको उल्लेख गरे। क्षतिग्रस्त संरचनालाई पहिलेभन्दा सुरक्षित र विपद् प्रतिरोधी बनाउने ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण गर्दा थप लगानी आवश्यक पर्ने उनको भनाइ छ।
विपद्पछि पाँच दिनभित्र गरिएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन र विश्व बैंकको ‘ग्रेड’ विधि दुवैले पुनर्निर्माणका लागि ४.७ देखि ५ अर्ब डलरसम्म आवश्यक पर्ने देखाएको उनले बताए।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब रुपैयाँ संकलन भएको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले यसलाई सरकारप्रतिको जनविश्वाससँग जोडे। कोषको रकम कार्यविधि र आवश्यकताका आधारमा खर्च गरिने उनले स्पष्ट पारे।
उनका अनुसार छ महिनाको समयावधिलाई आधार मानेर पूर्वाधार तथा कृषि क्षेत्रको राहतमा रकम केन्द्रित गर्ने योजना छ। अन्य विपद्का लागि समेत रकम बचत गरिने उनले बताए।
पुनर्निर्माणको बजेट जुटाउन चालु आर्थिक वर्षको २१ खर्ब २४ अर्ब रुपैयाँको सीमा नाघ्ने गरी पूरक बजेट ल्याउनुभन्दा मौजुदा विनियोजनको पुनःप्राथमिकीकरण गर्ने तयारी रहेको वाग्लेले जानकारी दिए।
सम्बन्धित पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिएर काम अघि बढाउने र आवश्यक परे आगामी आर्थिक वर्षको बजेटमा पुनर्निर्माणलाई प्राथमिकताका साथ समावेश गर्ने उनको भनाइ छ।

सम्बन्धित खबर











