

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। पुनर्बहालीको मागसहित बिहीबार पेस गरिएको निवेदन दर्ता गर्ने वा नगर्नेबारे अदालत प्रशासनले अध्ययन गरिरहेको छ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। कार्कीले सुरक्षा सल्लाहकारको नियुक्ति स्वीकार नगरी वारेसमार्फत सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन्।
उनले कार्यकाल बाँकी रहँदै आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गरेका छन्। निवेदनमा कार्कीलाई हटाउने र सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गरिएको छ। साथै, केसीलाई प्रहरी महानिरीक्षकको हैसियतमा कामकारबाही गर्न नदिन अन्तरिम आदेशसमेत माग गरिएको छ।
केसीले भने बुधबार नै दर्ज्यानी चिह्न लगाएर प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। शुक्रबार रिट दर्ता भए पनि प्रारम्भिक सुनुवाइ तिहार बिदापछि मात्रै हुने बताइएको छ। अदालत कात्तिक २७ गते खुलेपछि निवेदन पेसीमा चढ्ने सम्भावना छ। हालसम्म रिट दर्ता भइसकेको वा मागअनुसार कुनै आदेश जारी भएको छैन।

सम्बन्धित खबर











