Skip to main content

बालबालिकाको सुरक्षित वर्तमानबिना समृद्ध नेपालको सम्भावना छैन

समाचार सारांश सम्पादकीय समीक्षा गरिएको। मानसिं वाइबा मकवानपुरको बकैया–६, ज्यामिरेका बालक हुन् जसले बालश्रमबाट उद्धार पाएका छन् र अहिले स्नातक अध्ययनरत छन्। सम्माननीय प्रधानमन्त्रीज्यू, म मानसिं वाइबा। मेरो घर बकैया–६, ज्यामिरे, मकवानपुर जिल्लामा पर्दछ जुन अहिले पनि अत्यन्तै दुर्गम मानिन्छ। म बालक भएरै श्रमशोषणमा परेर उद्धार भएको व्यक्ति हुँ। मेरो परिवारमा दुई छाक खान समेत समस्या थियो। बुबाआमा वृद्ध भइसकेका छन्, दिदीहरूको बिहे भइसकेको छ र म एक्लो छोरो हुनाले परिवारको जिम्मेवारी मैले नै लिनुपरेको थियो। मेरो अवस्था देखेर गलैँचा ठेकेदारले मलाई फकायो, धेरै कमाउन सकिने लोभ देखायो। पढ्ने इच्छा हुँदा पनि गलैँचा बुन्न काठमाडौँ आएँ। मेरो उमेर भर्खर ११ वर्ष थियो, जाडो महिना। शरीरमा पातलो शर्ट र पाइन्ट मात्र थिए। त्यही अवस्थामा गलैंचाको धागोमा सुतेर काम गरेँ। तर, न पैसा दिए, न अन्य कुनै सुविधा दिए। यति गरी शोषण भएपछि त्यहाँबाट छोडेर म होटलमा भाँडा माझ्ने काम गर्न थालेँ। तर, त्यहाँका कामदारहरूले खाँटी रक्सी खाएर मलाई राति पिट्ने गर्थे। साहु–साहुनीसँग भन्दा ती दाइहरू, जो उनीहरूको आफन्त थिए, तिनले अलि गाली गर्थे तर अरु केही गर्दैनथे। सताइ रहँदा मैले धेरै सहेँ र अन्ततः हिम्मत गरेर प्रहरी चौकीमा गएर आफ्नो समस्या सुनाएँ। त्यसपछि चाइल्ड रेस्क्यू नेपाल, नेपाल प्रहरी र ईस्थर बेन्जामिन स्मृति संस्थाको सहयोगमा मेरो उद्धार भयो जुन वि.सं. २०७२ को कुरा हो। ईस्थर बेन्जामिन स्मृति संस्थाले मलाई संरक्षण गरी पढ्न, लेख्न र अन्य सुविधा उपलब्ध गरायो। मैले मेरो घरको समस्या पनि बताएँ जसले परिवारमा केही सहयोग मिल्न सहयोग पुग्यो। मैले त्यहाँ करिब तीन वर्ष अध्ययन गरेँ। पछि गाउँमै बसेर पढ्न चाहना राखेँ र संस्थाको सहयोगमा गाउँमै बसेर पढाइ जारी राखें। कक्षा ८ सकेर कोभिड महामारीपछि पुनः काठमाडौँ आएँ र पढाइ जारी राखेँ। अहिले त्यही संस्थाको सहयोगमा १२ कक्षा पास गरी स्नातक अध्ययनरत छु। आज म सचेत नागरिकको रूपमा उभिन सक्षम छु, तर मेरो जस्ता अवस्था देशका हजारौं बालबालिकाले भोग्नुपर्ने अवस्था छ। ती बालबालिकाको समस्या सरकार किन सम्बोधन गर्न सकिरहेको छैन? नेपालको संविधानले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, शोषण विरुद्ध अधिकार र सम्मानजनक जीवन सुनिश्चित गरेको छ। बालश्रम कानुनले निषेध गरेको पनि छ। तर यद्यपि बालबालिकाहरू विभिन्न रेष्टुराँ, मोटरसाइकल वर्कशप, कलकारखानामा काममा लगाइन्छन् र शोषण गरिन्छ। सन् २०२१ को नेपाल बालश्रम प्रतिवेदनका अनुसार करिब ११ लाख भन्दा बढी बालबालिका अझै बालश्रममा छन्। तीमध्ये धेरैले मेरो जस्तै ठूलो समस्या झेलिरहेका छन्। मैले नियम कानुनको सहारा लिएर आफ्नो जीवनको दिशा परिवर्तन गरें तर मेरा हजारौं भाईबहिनीहरू शोषणको चपेटामा छन्। यी कानुनको प्रभावकारी कार्यान्वयन गरी सम्बन्धितलाई राहत दिन आवश्यक छ। आगामी दिनमा बालश्रम र बालशोषण रोक्न सरकारले ठोस कदम चाल्नुपर्नेछ। म बालसंरक्षण क्षेत्रमा स्वयंसेवक र प्रशिक्षार्थी भएर उद्धार गरिएका बालबालिकाहरूसँग कुराकानी गर्दै आएको छु। श्रम र बेचबिखनमा परेका तथा अभिभावकविहीन बालबालिकाले जन्म दर्ता र नागरिकता नपाउने समस्या पनि जटिल छ। यसले उनीहरूलाई उच्च शिक्षा र नागरिक अधिकारबाट वञ्चित बनाउँछ। राज्यले प्रभावकारी नीति र कार्यक्रम लागू गरेमा सुरक्षित भविष्य सम्भव छ भन्ने मेरो अनुभवले देखाएको छ। संविधान र प्रचलित कानुन अनुसार बालश्रमविरुद्ध शून्य सहनशीलता र प्रभावकारी कार्यान्वयन गरी बालबालिकाको उचित उद्धार, संरक्षण र विकास सुनिश्चित गर्न आवश्यक छ। बालबालिकाको सुरक्षित वर्तमानबिना समृद्ध नेपालको भविष्य सम्भव छैन। यस विषयलाई राष्ट्रिय प्राथमिकतामा राखेर ठोस, समयबद्ध र परिणाममुखी पहल गर्न पुनः हार्दिक अनुरोध गर्दछु।