

विपद् व्यवस्थापनमा सरकार र सहयोगी संस्थाको जिम्मेवारी स्पष्ट गर्न विष्टको आग्रह


काठमाडाैं । विदुर नगरपालिका उपप्रमुख प्रभा बोगटीले विपद्का बेला प्रभावित क्षेत्रमा पुगेर नागरिकको अवस्था बुझ्न स्थानीय जनप्रतिनिधिले समेत कठिनाइ भोग्नुपरेको बताएका छन्। विपद् व्यवस्थापनसम्बन्धी छलफलमा उनले जोखिम क्षेत्रमा सुरक्षाकर्मीको उपस्थितिबिना जान अनुमति नहुँदा आफू पाँच दिनसम्म स्थलगत अनुगमनमा पुग्न नसकेको बताए। नागरिकले बेपत्ता परिवारका सदस्य र घरको अवस्था बुझिदिन आग्रह गरे पनि आवश्यक सुरक्षा व्यवस्था र अधिकारको अभावमा तत्काल पुग्न नसकिएको उनको भनाइ छ। स्थानीय सरकारले प्रभावितलाई सुरक्षित स्थानमा राख्ने र खानाको व्यवस्था गरे पनि खोज तथा उद्धारमा सुरक्षा निकायको नेतृत्व प्रमुख रहेको उनले बताए। विपद् प्रतिकार्य प्रभावकारी बनाउन स्थानीय सरकारलाई पर्याप्त स्रोत, जनशक्ति र कार्यस्थलमा परिचालन हुन सक्ने व्यवस्था आवश्यक रहेकोमा उनले जोड दिए।
डीसीए नेपालकी निर्देशक डा. सम्झना विष्टले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकार तथा सहयोगी संस्थाबीच जिम्मेवारी स्पष्ट हुनुपर्ने बताएकी छन्। विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा उनले नीति र योजना पर्याप्त भए पनि कार्यान्वयनका लागि आवश्यक बजेट, जनशक्ति र प्राविधिक क्षमतामा लगानी बढाउनुपर्ने बताइन्। स्थानीय र प्रदेश सरकारका जिम्मेवारी दोहोरिँदा काममा अन्योल उत्पन्न हुन सक्ने भन्दै उनले कार्यक्षेत्र स्पष्ट पार्नुपर्नेमा जोड दिइन्। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई पनि प्रभावकारी रूपमा परिचालन हुन सहज बनाउने उनको भनाइ छ। विष्टले विपद् आएपछि तत्काल काम गर्न सक्ने गरी स्थानीय संस्था, सरकारी निकाय र सहयोगी सञ्जालको पूर्वतयारी बलियो बनाउनुपर्ने बताइन्।

सम्बन्धित खबर









