
कानुनी रूपमा आमाको नामबाट नागरिकता लिन सकिने प्रावधान भए तापनि कार्यान्वयनमा कठिनाइका कारण धेरै नागरिक अझै नागरिकताविहीन छन्। १७ चैत्र, काठमाडौं। मंगलबार सिटिजनसिप अफेक्टेड पिपल्स नेटवर्क (सीएपीएन), नेसनालिटी फर अल (एनएफए) र ग्लोबल क्याम्पियन फर इक्वल नेसनालिटी राइट्स (जीसीइएनआर) को संयुक्त आयोजनामा “आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्था, चुनौती र आवश्यक संवैधानिक संशोधन” विषयमा छलफल सम्पन्न भयो।
छलफलमा सहभागीहरूले कानुनमा संशोधन भए पनि व्यवहारमा आमाको नामबाट नागरिकता लिन अझै पनि समस्या र अप्ठ्यारो रहेको बताएका छन्। कार्यक्रममा एक पीडितले आफ्नो आमा नेपाली र बुबा भारतीय हुँदा पनि सर्चाहती नेपालमै बसेर ३६ वर्षसम्म नागरिकता नपाएको गुनासो व्यक्त गरेका छन्। उनले भने, ‘१६ वर्षदेखि प्रयास गरिरहेँ, तर अझै अनागरिक नै छु। नागरिकताले गर्दा पढाइ र रोजगारीमा प्रभाव पर्यो, मानसिक समस्या पनि भोग्नु पर्यो।’
त्यस्तै अर्की एक सहभागीले पनि एकल आमाको नामबाट नागरिकता बनाउँदा आमाको चरित्रमाथि प्रश्न उठाइने र अपमानजनक प्रश्नहरूको सामना गर्नुपरेको गुनासो गरिन्। विश्वका १९५ मध्ये १७२ देशहरूमा आमाको नामबाट बिना कुनै सर्त नागरिकता प्राप्त गर्न सकिन्छ। अझै २४ देशमा आमाको नामबाट नागरिकता पाउन समस्या छ भने एसियाका चार देशले आमाको नामबाट नागरिकता प्रदान गर्दैनन्। दक्षिण एसियामै नेपाल मात्र आमाको नामबाट नागरिकता लिन अप्ठ्यारो रहेको उल्लेख छ। संविधानमा यसलाई मान्यता दिइएको भए पनि विभिन्न सर्तहरूसहित नागरिकता नियमावली संशोधित गरिएको छ। यसविरुद्ध पीडित र सरोकारवाला निकायहरूले ध्यानाकर्षण गराएका छन्। कार्यक्रमका सहभागीहरूले कानुनी व्यवस्था प्रभावकारी बनाउन, प्रक्रिया सजिलो र सम्मानजनक बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।






