
समाचारको संक्षेप समीक्षा पश्चात तयार गरिएको। इरान र इजरायलबीचको द्वन्द्व २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि शुरु भई २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणपछि पूर्ण युद्धको स्वरूप लिएको छ। रुसले इरानलाई रणनीतिक साझेदारको रुपमा मान्दै अप्रत्यक्ष सैन्य र प्राविधिक सहयोग पुर्याइरहेको छ भने इजरायलसँग सुरक्षा समन्वय कायम राखेको छ। चीनले मध्यपूर्वको युद्धमा प्रत्यक्ष सैन्य संलग्नता बिना कूटनीतिक दबाव र अप्रत्यक्ष सहयोगमार्फत आफ्ना दीर्घकालीन आर्थिक र राजनीतिक हितहरूको संरक्षण गरिरहेको छ। १७ चैत, काठमाडौं। दशकौंदेखि इरान र इजरायलबीच ‘छाया युद्ध’ चलिरहेको थियो। साइबर आक्रमण, वैज्ञानिकहरूको हत्या र प्रोक्सी समूहमार्फत हुने साना भिडन्तहरूमा सीमित यो द्वन्द्व हाल प्रत्यक्ष युद्धको रुप लिन पुगेको छ। सन् २०२४ को अप्रिलमा दमास्कसस्थित इरानी दूतावासमा इजरायली आक्रमण र त्यसको प्रतिरोधमा इरानद्वारा इजरायलमाथि गरिएको मिसाइल प्रहारले इतिहासको एक नयाँ पाना खोलेको छ। फेरि २०२६ को फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेपछि यो द्वन्द्व पूर्ण युद्धको रुपमा परिणत भएको छ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या, परमाणु स्थल, सैन्य आधार र तेल पूर्वाधारमा गरिएको हमलाले क्षेत्रीय सन्तुलनमा ठुलो प्रभाव पारेको छ। जवाफ स्वरूप इरानले इजरायलका तेल रिफाइनरी, खाडी देशका बन्दरगाह, र अमेरिकी आधारहरूमा मिसाइल तथा ड्रोन हमलाहरू गरेको छ। यमनका हुथी विद्रोहीहरूले इजरायललाई लक्षित गरेका छन् भने लेबनानको हिज्बुल्लाहको गतिविधि पनि बढेको छ। हरेक ठूलो युद्धमा शक्ति राष्ट्रहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुन्छन्। यस युद्धमा अमेरिका प्रत्यक्ष संलग्न छ, तर विश्वका दुई प्रमुख शक्ति रुस र चीन अझै प्रत्यक्ष रूपमा युद्धमा सामेल भएका छैनन्। उनीहरूले कूटनीतिक दबाव र अप्रत्यक्ष सहयोग प्रदान गर्दै आएका छन्, प्रत्यक्ष सैन्य हस्तक्षेप भने गरेका छैनन्।






