
रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ कालिकापथमा माइक्रो बस र ई–रिक्सा ठोक्किँदा गोविन्द विकको मृत्यु भएको छ। घाइते कृतिका आले मगरको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। माइक्रो बस चालक साजन परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
दुर्घटनामा ई–रिक्सा चालक अर्घाखाँची पाणिनी गाउँपालिका–१ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका ३२ वर्षीय गोविन्द विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।
दुर्घटनामा परी ई–रिक्सामा सवार बुटवल–२ मैनाबगरकी २३ वर्षीया कृतिका आले मगर घाइते भएकी छन्। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार तिनकुनेबाट बसपार्कतर्फ आउँदै गरेको वायप्र०३००१ ज १२२९ नम्बरको ईभी माइक्रो बस र विपरीत दिशाबाट जाँदै गरेको रा १ ह ४४३४ नम्बरको ई–रिक्सा एकआपसमा ठोक्किएका थिए। घटनापछि माइक्रो बस चालक चितवन भरतपुर महानगरपालिका–१५ रामपुरका ३४ वर्षीय साजन परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।






