

ग्रेटा थनबर्गले जलवायु वार्तालाई ‘पाखण्डीपन’ भन्दै निन्दा गरिन्


२५ कात्तिक, काठमाडौं । स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई ‘पाखण्डीपन’ भन्दै निन्दा गरेकी छन्। उनले विश्वका नेताहरूलाई नाफा र शक्तिभन्दा मानिस र पृथ्वीलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। टर्कीको पर्यटकीय सहर अन्टाल्यामा जारी कोप३१ सम्मेलनमा मङ्गलबार पुगेपछि थनबर्गले यस्तो टिप्पणी गरेकी हुन्। ‘हरेक वर्ष आयोजक राष्ट्रहरूलाई आफ्नो छवि सुधार्ने अवसर दिइनु पाखण्डीपन हो। हामीलाई थाहा छ कि यी वार्ताहरू लबिस्टहरूले भरिएका हुन्छन्, जसलाई हाम्रो अत्यन्त हिंसक यथास्थितिबाट फाइदा लिइरहेका विनाशकारी उद्योगहरूले पैसा तिरेका हुन्छन्,’ थनबर्गले भनिन्, ‘हाम्रो राजनीतिक र आर्थिक प्रणाली मानव प्रकृतिसँग मेल नखाने भइसकेका छन्।’
यो वार्ता यस्तो समयमा भइरहेको छ, जहाँ विश्वले विगत एक वर्षमा लू र बाढीजस्ता ज्यानमारा जलवायुजन्य विपद्हरू तथा इरानमाथि अमेरिका-इजरायल युद्धका कारण उब्जिएको अर्को ऊर्जा सङ्कटको सामना गरिरहेको छ। कोप३१ का सह-आयोजकहरू टर्की र अस्ट्रेलियाले नवीकरणीय ऊर्जा र रुफटप सोलार जडानलाई प्रवर्द्धन गरिरहेका छन्, तर दुवै देश अझै पनि विद्युत् उत्पादनका लागि जीवाश्म इन्धन, विशेषगरी कोइलामा धेरै निर्भर छन्।
जलवायु परिवर्तनले सबै कुरालाई खतरामा पारिरहेको बताउँदै थनबर्गले चेतावनी दिइन्, ‘हामीले माया गर्ने हरेक कुरा र सबै जना खतरामा छन्।’ उनले भनिन्, ‘केही सीमित भाग्यमानीहरूले अकल्पनीय नाफा कमाइरहन र भूराजनीतिक शक्ति कायम राख्नका लागि हामी सबै बाँचिरहेको यो पृथ्वी र विश्वको बहुसङ्ख्यक आवादीलाई निरन्तर बलिदान गर्नुको सट्टा, हामीले मानिसहरूको रक्षा र हितका लागि काम गर्नुपर्छ।’
थनबर्ग सन् २०१८ मा १५ वर्षको उमेरमा स्विडेनको संसद्बाहिर एक्लै जलवायुका लागि विद्यालय हडताल सुरु गरेपछि चर्चामा आएकी थिइन्। स्कटल्यान्डको ग्लासगोमा सन् २०२१ मा भएको वार्तापछि उनी सहभागी भएको अन्टाल्या शिखर सम्मेलन पहिलो हो। अन्टाल्यामा उनको आगमनले कोप३१ मा थप जलवायु वित्तको माग गरिरहेका धेरै युवा जलवायु कार्यकर्ताहरूमाझ उत्साह छाएको छ।
कोप३१ सम्मेलन अन्टाल्यामा नोभेम्बर २० सम्म चल्नेछ। अर्को वर्षको संस्करण, कोप३२, नोभेम्बर २०२७ मा इथियोपियाको राजधानी अदिस अबाबामा आयोजना हुने तय भएको छ।

सम्बन्धित खबर









