

हेटौँडा — मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन्। मधेश प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित मृतकका आफन्तको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरेपछि सहमति जुटेको हो।
छलफलमा आफन्तले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी र घाइते तीन बालबालिकाको शिक्षा तथा पालनपोषणको जिम्मा सरकारले लिनुपर्ने माग राखेका थिए। उनीहरूले सात दिनभित्र माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले ती माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याएर सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएपछि आफन्त शव परीक्षण गर्न सहमत भएका हुन्।
शव परीक्षण सकिएपछि आफन्तले शव बुझेर अन्तिम संस्कारका लागि सर्लाही लैजाने तयारी गरेका छन्।

सम्बन्धित खबर











