Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

गाजाको नासेर अस्पतालमा इजरायली आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

Advertisement800×200-1

गाजास्थित नासेर अस्पतालमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन्। कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका लागि राष्ट्रसङ्घीय मानवीय संयोजक रमिज अलक्बारोभले अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै स्वास्थ्य संस्थालाई निशाना बनाउन वा सैन्य प्रयोजनमा प्रयोग गर्न नहुने बताए। उनले बिहीबारको आक्रमणबाट अस्पतालमा व्यापक क्षति पुगेको भन्दै गहिरो चिन्ता व्यक्त गरे।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०२३ अक्टोबरदेखि गाजामा स्वास्थ्य सेवामाथि १ हजारभन्दा बढी आक्रमणका घटना अभिलेख गरिएका छन्, जसबाट मानवीय क्षति हुनुका साथै स्वास्थ्य संरचनामा क्षति पुगेको छ। जाडोयाम नजिकिँदै गर्दा प्रभावित नागरिकलाई राहत दिन आश्रय सामग्री र न्यानो कपडासहितका मानवीय सहायता सामग्री सुरक्षित र निर्बाध रूपमा गाजामा पुर्‍याउन उनले आग्रह गरे।

अन्तर्राष्ट्रिय मानवीय कानूनले अस्पताल, स्वास्थ्यकर्मी र चिकित्सा सुविधाको संरक्षण गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले जारी हिंसाले गाजामा मानवीय पीडा थप बढाएको र कमजोर अवस्थामा रहेको युद्धविरामसमेत जोखिममा पारेको बताए। यसैबीच, राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले गत सप्ताहन्तको भारी वर्षापछि गाजामा राहत साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा पानी निकास गर्ने, नाली सफा गर्ने र जमेको पानी हटाउने काम गरिरहेको जनाएको छ।

सहायता साझेदारहरूले तत्काल सहयोग आवश्यक ५ हजार २०० परिवारमध्ये १ हजार ८०० परिवारलाई पाल, त्रिपाल, कम्बल र अन्य सामग्री उपलब्ध गराएका छन्। यो कुल आवश्यक परिवारको करिब एक तिहाइ हो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर