Skip to main content

नेपालले लाओसविरुद्ध फेरि पराजय भोग्यो

एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपाल लाओससँग १-० ले पराजित भएको छ। लाओसका कप्तान बोउनफाचान बोउनकोङले ४७औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। नेपालले समूह एफमा ६ खेलमा जम्मा ३ अंक मात्र जोड्न सक्यो। १७ चैत, काठमाडौं।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपाल पुनः लाओससँग पराजित भएको हो। समूह एफ अन्तर्गत लाओसको घरेलु मैदानमा भएको खेलमा नेपाल १-० ले हार व्यहोर्न बाध्य भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै लाओसले अग्रता बनायो। लाओसका कप्तान बोउनफाचान बोउनकोङले ४७औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाए। चोनी विनपासेर्थले दिएको पासमा बोउनकोङले नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई छल्दै गोल फर्काए।

नेपालले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। पहिलो हाफमा दुवैले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्। ३५औं मिनेटमा नेपालले गोल गर्ने मौका गुमायो, पोस्ट नजिकबाट बल बाहिरिएको थियो। त्यसअघिल्ला २४औं मिनेटमा लाओसका खेलाडीको प्रहार बारमा लागेको रिबाउन्डमा हेडर नेपालका गोलकिपर किरणले बचाए। यसअघि छनोट अन्तर्गत लाओसमा भएको पहिलो खेलमा पनि नेपाल २-१ ले पराजित भएको थियो। नेपाली फुटबल इतिहासमा नेपालले लाओसविरुद्ध लगातार दुई खेलमा पहिलो पटक हार व्यहोरेको हो।

त्यसअघिका पाँच खेलहरूमा नेपालले चार खेल जितेको र एक खेल बराबरी गरेको थियो। एसियन कप छनोटको होडबाट बाहिरिसकेको नेपालले समूह एफमा ६ खेलबाट जम्मा ३ अंक मात्र जोडेर आफ्नो यात्रा समाप्त गर्यो। ती ३ अंक नेपालले खेल जितेर नभई, मलेसियाले नियम विपरित खेलाडी खेलाएको भन्दै एएफसीको डिसिप्लिनरी कमिटीले कारवाही गरी नतिजा उल्टाएपछि प्राप्त भएको हो।