

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु


उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा यात्रुवाहक भ्यान नदीमा खस्दा ११ जनाको मृत्यु र तीन जना घाइते भएका छन्। स्थानीय प्रहरी अधिकारी मोहम्मद अफजलका अनुसार बिहीबार राति चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। उद्धारकर्ताहरूले शुक्रबारसम्म खोजी र उद्धार अभियान जारी रहेको र भ्यानमा सवार ११ जनाको शव र तीन घाइतेलाई नजिकैको अस्पतालमा लगिएको बताएका छन्।
क्षेत्रीय मुख्यमन्त्री अमजद हुसेनले उक्त सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको उपचार सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। पाकिस्तानमा सडकको खराब अवस्था, ट्राफिक कानूनको अपर्याप्त कार्यान्वयन र असुरक्षित चालक अभ्यासहरूको कारण विशेष गरी पहाडी क्षेत्रहरूमा सडक दुर्घटनाहरू पटक–पटक हुने गरेको बताइएको छ। गत हप्ता, पूर्वी पाकिस्तानमा बस र ट्रकको टक्कर हुँदा ११ जनाको मृत्यु भएको थियो भने अन्य ३३ जना घाइते भएका थिए।

सम्बन्धित खबर









