

मेलबर्नका ३० भन्दा बढी रेस्टुरेन्ट र क्याफेमा अनुगमन, नेपाली विद्यार्थीले सुनाए आफ्ना पीडा


मेलबर्नको केन्द्रीय व्यापारिक क्षेत्रमा ३० भन्दा बढी फास्टफुड पसल, रेस्टुरेन्ट र क्याफेमा अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटीओ) र फेयर वर्क ओम्बड्सम्यानले तीन दिनसम्म संयुक्त अनुगमन गरेका छन्। कर्मचारीलाई कानुनअनुसार पारिश्रमिक नदिएको र कर तथा सुपरएनुएसन नियम पालना नगरेको आशङ्कामा गरिएको अनुगमनपछि थप अनुसन्धान र कारबाही अघि बढाइने भएको छ। नेपाली विद्यार्थी स्मारिका राईले काम गर्दा दुर्व्यवहार, मानसिक दबाब र कम पारिश्रमिक भोगेको बताएकी छन्, भने कामना श्रेष्ठले एक साता निःशुल्क काम गराइएको सुनाएकी छन्।
फेयर वर्क ओम्बड्सम्यानका अनुसार सन् २०२५–२६ मा फास्टफुड, रेस्टुरेन्ट र क्याफे क्षेत्रका ३ हजार ५३८ कर्मचारीको ५६ लाख अस्ट्रेलियन डलरभन्दा बढी बक्यौता पारिश्रमिक असुल गरिएको छ। २७ कात्तिक, सिड्नी। अस्ट्रेलियाको मेलबर्न सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी फास्टफुड पसल, रेस्टुरेन्ट तथा क्याफेमा यसै साता संयुक्त अनुगमन गरिएको छ। अनुगमनका क्रममा सङ्कलन गरिएको विवरणका आधारमा आगामी दिनमा थप अनुसन्धान, लेखापरीक्षण तथा आवश्यक कानुनी कारबाही अघि बढाइने अधिकारीहरूले बताएका छन्।
यस अभियानका लागि स्थानीय समुदायबाट प्राप्त सूचना, उजुरी तथा अघिल्ला अनुगमनका क्रममा सङ्कलित विवरणलाई आधार बनाइएको थियो। नियमविपरीत काम भइरहेको जानकारी भएमा सर्वसाधारणले आफ्नो पहिचान गोप्य राखेर सम्बन्धित निकायमा उजुरी दिन सक्नेछन्। यो अभियान ‘अपरेसन रेजोनेन्स’ अन्तर्गत सञ्चालन गरिएको हो। नगदमा काम, कम पारिश्रमिक र ज्याला नपाउने समस्या अस्ट्रेलियामा अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थी, विशेषगरी नेपाली विद्यार्थीसमेत रोजगारस्थलमा विभिन्न प्रकारका शोषणको जोखिममा पर्ने गरेका छन्।
मेलबर्नमा रेस्टुरेन्ट तथा क्याफे क्षेत्रमा भइरहेको अनुगमनको सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी स्मारिका राईले आफूले काम गर्ने क्रममा दुर्व्यवहार, मानसिक दबाब र कम पारिश्रमिकको सामना गर्नुपरेको बताइन्। उनले काम गरेको अन्तिम समयको पारिश्रमिकसमेत नपाएको आफ्नो अनुभव सुनाइन्। त्यस्तै, सनसाइन कोस्टमा अध्ययनरत नेपाली विद्यार्थी कामना श्रेष्ठले पनि रोजगारीको आश्वासनमा आफूलाई एक साता निःशुल्क काम गराइएको बताइन्। विद्यार्थीका यी अनुभवले अस्ट्रेलियामा पढाइसँगै जीविकोपार्जनका लागि काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले भोग्नुपर्ने रोजगारसम्बन्धी चुनौतीलाई उजागर गरेका छन्।

सम्बन्धित खबर









