Skip to main content

एचजेएनबीएलमा आर्मी र हाउण्ड्सको जीत

हिमालयन जाभानेशनल बास्केटबल लिग २०२६ मा त्रिभुवन आर्मी क्लबले कीर्तिपुरलाई ९६-७९ ले पराजित गरेको छ। केभीसी हाउण्ड्सले रोएललाई १००-६९ को फराकिलो अन्तरले हराएको छ। लिग चरणपछि शीर्ष चार टोलीले प्लेअफमा प्रवेश गर्नेछन् र विजेताले नगद ४ लाख पुरस्कार प्राप्त गर्नेछन्। १७ चैत, काठमाडौं।

एचजेएनबीएल २०२६ मा मंगलबार त्रिभुवन आर्मी क्लब र केभीसी हाउण्ड्स विजयी भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा आर्मीले कीर्तिपुरलाई ९६-७९ ले पराजित गर्यो। आर्मीले पहिलो क्वाटर ३१-१६ र दोस्रो क्वाटर २७-१३ ले जितेर हाफ टाइमसम्म ५८-२९ को अग्रता बनाएको थियो। तेस्रो क्वाटर २३-२३ बराबरीमा समाप्त भयो भने चौथो क्वाटरमा कीर्तिपुरले २७-१५ को स्कोर ल्याए पनि आर्मीलाई विजयी हुनबाट रोक्न सकेन।

कीर्तिपुरका लक्की महर्जनले एक्लैले ४३ अंक स्कोर गरे र प्लेयर अफ दि म्याच घोषित भए। विजयी टोली आर्मीका सिमोन गुरुङले २० अंक स्कोर गरे। आर्मीले ११ खेलमा २१ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरले ११ खेलबाट १३ अंक जोड्दै पाँचौं स्थानमा छ।

मंगलबारको पहिलो खेलमा केभीसी हाउण्ड्सले रोएललाई १००-६९ को फराकिलो अन्तरले हरायो। हाउण्ड्सले पहिलो क्वाटरमा २८-२३ ले पछि परेको स्थिति पल्टाउँदै बाँकी तीन क्वाटर आफ्नो पक्षमा पारेको थियो। हाउण्ड्सको यो लगातार आठौं जित हो। हाउण्ड्सका तोमार हर्शवर्दन म्यान अफ दि म्याच घोषित भए। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको एचजेएनबीएलमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।