Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपाल–भारत सम्बन्धमा साझा हितलाई प्राथमिकता दिनुपर्छ : डा. बेहुरिया

Advertisement800×200-1

काठमाडौं । भारतको सेन्टर फर पिस स्टडिजका प्रमुख डा. अशोककुमार बेहुरियाले बदलिँदो भूराजनीतिक परिस्थितिमा नेपाल र भारतले साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अघि बढाउनुपर्ने बताएका छन्। नेपाल–भारत सम्बन्धका बदलिँदा आयामबारे आयोजित कार्यक्रममा उनले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई आधार बनाएर आर्थिक सहकार्य, क्षेत्रीय सम्पर्क र आपसी विश्वास बढाउनुपर्ने धारणा राखे। उनले भने, “भारतले नेपाललाई क्षेत्रीय सम्पर्क र सहकार्यको पुलका रूपमा विकास गर्न चाहेको छ।”

काठमाडौंसम्म चीनको बढ्दो पहुँचलाई लिएर भारतका आफ्नै चासो रहेको उल्लेख गर्दै बेहुरियाले त्यस्ता चासोले नेपाल–भारत सहकार्यको दायरा साँघुरिन नहुने बताए। उनले दुवै देशका नागरिकले साझा क्षेत्रीय हित र आर्थिक सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। भूराजनीतिक प्रतिस्पर्धाबीच पनि आर्थिक सहकार्य कायम रहन सक्ने उदाहरणका रूपमा उनले अमेरिका र चीनको सम्बन्धलाई प्रस्तुत गरे।

उनले भने, “राजनीतिक तथा रणनीतिक प्रतिस्पर्धा रहे पनि दुई देशबीच करिब ६०० अर्ब अमेरिकी डलर बराबरको व्यापार भइरहेको छ।” आर्थिक सम्बन्धले प्रतिस्पर्धामा रहेका मुलुकलाई पनि जोडिराख्ने उनको भनाइ थियो। बेहुरियाले दक्षिण एसियाली मुलुकहरूबीचको सम्बन्ध बलियो बनाउन नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले राज्यकेन्द्रित दृष्टिकोण र राष्ट्रवादी भाष्यभन्दा माथि उठेर नागरिकस्तरमा संवाद, विश्वास र सहकार्य बढाउनुपर्ने धारणा राखे।

भारत, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्सलगायतका मुलुकमा सत्तारूढ राजनीतिक शक्तिहरूले बेलाबेला पुराना राजनीतिक तथा ऐतिहासिक विवाद उठाएर जनमत प्रभावित गर्ने गरेको उनको भनाइ थियो। छिमेकीविरुद्ध जनमत निर्माण गर्ने यस्तो प्रवृत्तिले आपसी अविश्वास बढाउने र क्षेत्रीय सहकार्यमा बाधा पुर्‍याउने उनले बताए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर