
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलन यस वर्ष स्कटल्यान्डको एडिनबर्गमा जुलाई ८ देखि ११ सम्म आयोजना हुने भएको छ। हालै सम्पन्न भर्चुअल बोर्ड बैठकले यस स्थानको पुष्टि गरेको छ भने क्रिकेटसम्बन्धी समाचार संस्था क्रिकबजले सो जानकारी प्रदान गरेको छ। सम्मेलनको नेतृत्व आईसीसीका अध्यक्ष जय शाहले गर्नेछन्। यो सम्मेलन आईसीसी महिला टी-२० विश्वकप सकिएलगत्तै आयोजना गरिनेछ।
सम्मेलनमा एसोसिएट सदस्यहरूको प्रतिनिधित्वसम्बन्धी महत्वपूर्ण निर्वाचन पनि हुनेछ। १७ सदस्यीय बोर्डका लागि एसोसिएट राष्ट्रबाट ३ जना निर्देशकहरू छनोट गरिनेछन्, जसको कार्यकाल दुई वर्षको हुनेछ। निर्वाचनमा विभिन्न देशका प्रतिनिधिहरू उम्मेदवार बन्ने अपेक्षा गरिएको छ। सम्भावित उम्मेदवारहरूमा रुवान्डाका स्टेफन मुसाले, नामिबियाका डा. रुडी भान भुरेन, बर्मुडाका नील स्पेइट, अमेरिकाका शंकर रंगनाथन लगायत रहेका छन्। हालका एसोसिएट प्रतिनिधि गुरुमूर्ति पलानी, मुबाशिर उस्मानी, महिन्दा वल्लिपुरम र उपाध्यक्ष इमरान ख्वाजाले पनि प्रतिस्पर्धा गर्ने योजना बनाएका छन्। यसअघि कतारको दोहामा मार्च २५ देखि २७ तारिखसम्म आयोजना गर्न लागेको बोर्ड बैठक पश्चिम एसियामा जारी युद्धका कारण स्थगित भएको थियो।






