Skip to main content

कोनोलीको अर्धशतकले पन्जाबलाई आईपीएलमा जीत दिलायो

१७ चैत, काठमाडौं । कूपर कोनोलीले आफ्नो डेब्यु खेलमा अर्धशतक पुर्‍याएपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुआत गरेको छ। मंगलबार मुल्लानपुरमा भएको खेलमा पन्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले हराउँदै २ अंक जोडेको छ। गुजरातले दिएको १६३ रनको लक्ष्य पन्जाबले ५ बल बाँकी रहँदा ७ विकेटको नोक्सानीमा पुरा गर्‍यो।

अस्ट्रेलियाका २२ वर्षीय अलराउन्डर कोनोलीले बलिङ नगरे पनि ब्याटिङमा ४४ बलमा ५ चौका र ५ छक्कासहित अविजित ७२ रन बनाएका छन्। ओपनर प्रभसिमरन सिंहले ३७ रन योगदान दिए भने कप्तान श्रेयस अय्यरले १८ रन जोडे। इम्प्याक्ट सबका रूपमा दोस्रो इनिङमा मैदान प्रवेश गरेका प्रसिधले १० ओभर पछि बलिङ थाले। उनी आफ्नो सुरुवाती १० बलमा मात्र ३ रन दिएर ३ विकेट लिइ सकेका थिए जसले पन्जाबमाथि दबाव बनाएको थियो, तर सेट ब्याटर कोनोलीले पन्जाबलाई जीत दिलाए।

गुजरातले टस हारेर पहिले ब्याटिङ गरेको थियो र २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो। सुरुवात राम्रो भए पनि गुजरातले राम्रो फिनिसिङ गर्न सकेन। कप्तान शुभमन गिलले ३९ रन बनाए भने जस बट्लरले ३८ रन बनाए। १० ओभरमा ८४-२ को स्थितिमा रहेको गुजरातले थप १० ओभरमा ७८ रन मात्र जोड्यो। पन्जाबका विजयकुमार वाइसाकले ४ ओभरमा ३४ रन दिएर ३ विकेट लिए भने युजवेंद्र चहलले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए। आईपीएलमा बुधबार दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुने छ।