Skip to main content

ट्रम्पको दाबी: इरानका नयाँ राष्ट्रपतिले युद्धविरामको माग गरेका छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् कि इरानका नयाँ राष्ट्रपतिले युद्धविरामको माग गरेका छन्। ट्रम्पले यो दाबी सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेका हुन्, जहाँ उनले भनेका छन्, ‘इरानका नयाँ राष्ट्रपति अघिल्लो राष्ट्रपतिभन्दा कम कट्टरपन्थी र बढी समझदार छन्। उनीहरूले भर्खरै अमेरिकालाई युद्ध अन्त्य गर्न आह्वान गरेका छन्।’

तर, इरानले युद्ध अन्त्यका लागि वार्तामा संलग्न रहेको ट्रम्पको उक्त दाबीलाई निरन्तर अस्वीकार गर्दै आएको छ। ट्रम्पले थप भनेका छन्, ‘हामी यसबारे तब मात्र विचार गर्नेछौं जब होर्मुजको जलडमरूम खुल्ने र पूर्ण रूपमा स्वतन्त्र र सुरक्षित हुने अवस्था बनोस्। जबसम्म त्यो हुँदैन, हामी इरानलाई पूर्ण रूपमा ध्वस्त पार्नेछौं वा तिनीहरूलाई ‘पाषाण युग’ मा फर्काउनेछौं।’ ट्रम्पले इरानका नयाँ राष्ट्रपतिले युद्धविरामको अनुरोध गरेको बताएका भए पनि कुन व्यक्तिलाई संकेत गरिरहेका छन् भन्ने कुरा स्पष्ट छैन।

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमा हवाई आक्रमण सुरु गरेपछि सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र अन्य धेरै वरिष्ठ इरानी नेताहरू मारिएका छन्। ८ मार्चमा अली खामेनीका छोरा मोज्तबा खामेनी उनका उत्तराधिकारी बनेका छन्। मोज्तबा खामेनीले धेरै लिखित वक्तव्य जारी गरेका छन्, तर सार्वजनिक रूपमा कम देखिएका छन्। ट्रम्पले भनेका छन् कि मोज्तबा खामेनी जीवित छन् वा छैनन्, त्यो उनलाई थाहा छैन।

इरानमा सन् २०२४ मा निर्वाचित मसुद पेजेश्कियान नै वर्तमान राष्ट्रपति रहेका छन्। ट्रम्पको दाबी अनुसार हाल कुनै नयाँ राष्ट्रपति छैन। इरानी मिडियाका अनुसार, मसुद पेजेश्कियानले मंगलबार मात्र सार्वजनिक उपस्थिति जनाएका थिए, जहाँ उनले इरानसँग युद्ध अन्त्य गर्न ‘आवश्यक इच्छाशक्ति’ रहेको बताएका थिए। यद्यपि, इरानले युद्ध अन्त्यका लागि वार्तामा संलग्न रहेको ट्रम्पको दाबी निरन्तर अस्वीकार गर्दै आएको छ।