Skip to main content

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी जोखिम बढ्यो

इन्डोनेसियाको मोलुका टापु नजिकै आज बिहान ६:४८ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको छ जसले सुनामीको जोखिम बढाएको छ। यस भूकम्पका कारण भवनका भग्नावशेषले थिचिएर उत्तर सुलावेसीकी ७० वर्षीया महिलाको मृत्यु भएको छ भने थप पराकम्पहरू आउन सक्ने सम्भावना रहेको अनुमान गरिएको छ। जापानको मौसम विज्ञान एजेन्सीले समुद्री सतहमा सामान्य परिवर्तन हुन सक्ने बताउँदै अलर्ट जारी गरेको छ, तर ठूलो सुनामीको खतरा नरहेको जनाएको छ।

स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको यस भूकम्पले इन्डोनेसियासँगै छिमेकी देशहरूमा पनि सुनामीको जोखिम उच्च पारेको छ। अमेरिकी भूगर्भिक सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रबिन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो। प्रारम्भमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड मापन गरिएको भए पनि पछि परिमार्जन गरी ७.४ कायम गरिएको छ। भूकम्प लगत्तै अधिकारीहरूले सुनामीको उच्च जोखिमको खबर गराएका छन्।

हवाईस्थित सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रबिन्दुबाट एक हजार किलोमिटर भित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा समुद्री छालहरू आउन सक्ने सम्भावना रहेको जानकारी दिएको छ। स्थानीय खोज तथा उद्धार टोलीका अनुसार, भूकम्पका कारण भवनको भग्नावशेषले थिचिएर उत्तर सुलावेसीको मिनाहासा क्षेत्रकी ७० वर्षीया महिलाको मृत्यु भएको छ।

उद्धारकर्मीहरूले सुलावेसी टापुको उत्तरी छेउमा रहेको मनाडो शहरमा नराम्ररी क्षतिग्रस्त भएको एउटा भवनको भिडियो सार्वजनिक गरेका छन्। राष्ट्रिय खेलकुद समितिले व्यवस्थापन गरेको उक्त भवनको भग्नावशेषमा मानिसहरू जम्मा भएका देखिन्छन्। घरभित्रका फर्निचरहरू बाहिर निकालिएका र केही धातुका संरचनाहरू पनि बाङ्गिएका छन्। मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा पराकम्पहरू भइसकेका छन् र राष्ट्रिय भूगर्भ एजेन्सीले अझै थप पराकम्पहरू आउन सक्ने अनुमान गरेको छ। एजेन्सीले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ, ‘अहिलेसम्म भवनहरूमा क्षति र मानिसहरू घाइते भएको रिपोर्टहरू प्राप्त भएका छन्।’

इन्डोनेसिया ‘रिङ अफ फायर’ भनिने अत्यधिक भूकम्प र ज्वालामुखी जोखिम क्षेत्रभित्र पर्दछ। एजेन्सीले सर्वसाधारणलाई तटीय क्षेत्र र पहिरो सक्ने स्थानहरूबाट टाढा रहन तथा सुरक्षित निकासका संकेतहरू पालन गर्न सल्लाह दिएको छ। जापानको मौसम विज्ञान एजेन्सीले समुद्री सतहमा सामान्य परिवर्तन हुन सक्ने भन्दै शिजुओका, ओकिनावा र होक्काइडो लगायत क्षेत्रहरूमा अलर्ट जारी गरेको छ, तर सुनामीबाट ठूलो क्षति नहुने अनुमान छ।

आज बिहानको भूकम्पको केन्द्रबिन्दुको सबैभन्दा नजिक मनाडो र टेर्नेट शहरहरू थिए। भूकम्प मोलुका सागरमा टेर्नेटबाट करिब १२० किलोमिटर पश्चिम र मनाडोबाट करिब १६० किलोमिटर पूर्वको बीचमा गएको थियो। मनाडो सुलावेसी टापुमा अवस्थित छ भने टेर्नेट मालुकु टापु समूहको एउटा सानो टापु हो। मोलुका सानो तर घना बस्ती भएको टापु हो जहाँ २ लाख ५ हजारभन्दा बढी मानिसहरू बसोबास गर्दछन्। यो टापु प्राचीन किल्लाहरू, ज्वालामुखी दृश्यहरू र फराकिला समुद्री तटहरूको लागि परिचित छ।

इन्डोनेसिया ‘रिङ अफ फायर’ अर्थात् अत्यधिक भूकम्प र ज्वालामुखी जोखिम क्षेत्रमा पर्ने भएकाले यहां बारम्बार यस्तो प्राकृतिक प्रकोपहरू आउने गर्दछन्। सन् २०२२ मा जाभा टापुको सियानजुर शहरमा ५.६ म्याग्निच्युडको भूकम्प हुँदा कम्तिमा ६०२ जनाको ज्यान गएको थियो। त्यसैगरी सन् २०१८ को सुलावेसी भूकम्प र सुनामीमा ४ हजार ३०० भन्दा बढी व्यक्ति मारिएका थिए। सन् २००४ मा अत्यन्त शक्तिशाली हिन्द महासागर भूकम्पबाट पनि इन्डोनेसियाको आचे प्रान्तमा ठूलो मानवीय क्षति भएको थियो।