Skip to main content

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि

१९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि भएको छ। इरानमा जारी युद्धको विषयमा ह्वाइट हाउसबाट गरिएको सम्बोधनपछि तेलको मूल्य बढेको हो। ब्रेन्ट क्रूडको मूल्य, जुन झण्डै सय डलर प्रति ब्यारेलको आसपास रहेको छ, ट्रम्पको भाषणको दौरान केही उतार-चढाव आएको छ भने सम्बोधन सकिएका बेला तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। ब्रेन्ट क्रूडको मूल्यमा चार प्रतिशतले बृद्धि भई १०५.३८ डलर पुगेको छ।

ट्रम्पले होर्मुज स्ट्रेटको सम्बन्धमा केही घोषणा गर्ने अनुमान गरिएको थियो। तर उनले होर्मुज स्ट्रेट सम्बन्धमा कुनै नयाँ जानकारी नदिएकोले तेलको मूल्यमा बृद्धि आएको बताइएको छ। होर्मुज स्ट्रेट विश्व अर्थतन्त्रमा अत्यन्त महत्वपूर्ण मानिन्छ। विश्वव्यापी रूपमा झण्डै २० प्रतिशत ऊर्जा व्यापार यही समुद्री मार्गबाट हुँदै आएको छ। २८ फेब्रुअरीमा सुरु भएको युद्धपछि यो मार्ग लगभग बन्द अवस्थामा छ। इरानले अमेरिकी-इजरायली हवाई आक्रमणको प्रतिक्रिया स्वरूप होर्मुज स्ट्रेट मार्ग भएर आवतजावत गर्ने जहाजहरूमा आक्रमण गर्ने चेतावनीसमेत दिएको छ।