
१९ चैत, काठमाडौं । सिरियाको ऐतिहासिक सहर हौम्समा रहेको ‘ग्रेट मस्क’ को पुनर्निर्माणको क्रममा एक प्राचीन ग्रीक शिलालेख फेला परेको छ। यस शिलालेखको खोजले दशकौँदेखि चलिरहेको पुरातात्त्विक बहसमा नयाँ मोड ल्याएको छ। विशेषज्ञहरूले यस शिलालेख फेला परेपछि रोमन साम्राज्यको कालको प्रसिद्ध ‘टेम्पल अफ सन’ मस्जिदमुनि दबिएको हुनसक्ने बलियो प्रमाण भेटिएको बताएका छन्। युनिभर्सिटी अफ शारजाहका पुरातत्त्वविद् प्रोफेसर मामुन सालेह अब्दुलकरिमले यो खोजले धार्मिक स्थलको क्रमिक रूपान्तरणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए।
उनका अनुसार त्यहाँ सुरुमा पेगन मन्दिर थियो, पछि सेन्ट जोन द ब्याप्टिस्टलाई समर्पित चर्च बन्यो र अन्ततः इस्लामिक विजयपछि मस्जिदमा परिणत भयो। मस्जिदको एउटा ग्रेनाइट खम्बाको फेदमा भेटिएको यो शिलालेख सन् २०१६ को उत्खननका क्रममा पहिलो पटक फेला परेको भए तापनि क्षेत्रको युद्ध र अस्थिरताका कारण यसको विस्तृत अध्ययन हुन सकेको थिएन। यस ऐतिहासिक सामग्रीमा एक ‘योद्धा राजा’ को गौरवशाली वीर गाथा वर्णन गरिएको छ, जहाँ उनको शाही शक्ति र विजयलाई हावा, आँधी र चितुवासँग तुलना गर्दै उच्च प्रशंसा गरिएको छ।
ग्रीक भाषामा लेखिएको यस शिलालेखमा त्यस समयको सिरियामा प्रचलित स्थानीय अरामिक भाषाको व्याकरणगत प्रभाव प्रष्ट रूपमा झल्किएको छ। यसको लेखन शैली अत्यन्त औपचारिक र सम्मानजनक छ, जसले प्राचीन समयमा कुनै मन्दिर वा स्मारक बनाइँदा अपनाइने विशेष पद्धति झल्काउँछ। यो मन्दिर ‘एलागाबालस’ नामक सूर्य देवताको सम्प्रदायसँग जोडिएको छ। रोमन सम्राट् बनेका एलागाबालसले आफ्नो शासनकालमा यस सूर्य देवतालाई रोमन साम्राज्यकै सर्वोच्च देवता बनाउने प्रयाससमेत गरेका थिए।
प्रोफेसर अब्दुलकरिमका अनुसार एमेसा सहरको यो पछिल्लो खोजले त्यहाँ भएको धार्मिक परिवर्तन कुनै आकस्मिक घटना नभएर एक अत्यन्तै सुस्त र क्रमिक प्रक्रिया भएको स्पष्ट पारेको छ। पुरानो संरचना पूर्ण रूपमा नष्ट नगरी नयाँ आस्थाअनुसार थप्दै लगिएको देखिन्छ। यसको सुरुवात रोमन कालमा एलागाबालसको भव्य सूर्य मन्दिरबाट भएको थियो भने चौथो शताब्दीमा इसाई धर्मको प्रभाव बढेसँगै सोही स्थानलाई चर्चमा रूपान्तरण गरियो। परिवर्तनको यो शृङ्खला १२औँ शताब्दीमा शासक नुर अद–दिनको शासनकालमा ‘ग्रेट मस्क’ को रूपमा निर्माण गरियो। यो अध्ययन ‘सेडेट’ नामक पुरातात्त्विक जर्नलमा प्रकाशित भएको छ। यसले हौम्स सहर केवल व्यापारिक केन्द्र मात्र नभई दुई हजार वर्षदेखि धार्मिक सहिष्णुता र सांस्कृतिक अनुकूलनको केन्द्र रहेको पुष्टि गर्दछ। यो शिलालेखको पूर्ण विश्लेषणले मध्यपूर्वको प्राचीन धार्मिक इतिहास बुझ्न ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ।






