प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग समस्या समाधानका लागि छलफल गरे

प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग क्षेत्रीय समस्या समाधानका लागि छलफल गरेका छन्। सांसदहरूले सडक, तटबन्ध, पर्यटन विकास, कृषि, अस्पताल, शिक्षा, खानेपानी र सिंचाइ सम्बन्धी समस्याहरू प्रधानमन्त्रीसँग राखेका छन्। प्रधानमन्त्रीले समस्याहरू लिखित रूपमा दिन र मन्त्रालयसँग समन्वय गरी ह्वाट्सएप ग्रुपमार्फत नियमित सम्पर्क गर्न सांसदलाई अनुरोध गर्नुभएको छ। २० चैत, काठमांडौ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग गण्डकी प्रदेशका सांसदहरूले आफ्नो क्षेत्रको समस्या समाधानका लागि पहल गर्न माग गरेका छन्। प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन्। यस अन्तर्गत शुक्रबार प्रधानमन्त्री बालेनले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्। नवलपुर–२ बाट निर्वाचित सांसद मनिष खनालले भने, “आफ्नो क्षेत्रको समस्या प्रधानमन्त्रीसँग राखेका छौं।” उनले बुटवल–नारायणगढ सडकखण्ड, दाउन्ने सडकखण्ड, त्रिवेणी–दुम्किवास सडक, तटबन्ध, हुलाकी राजमार्ग, मानव र बन्यजन्तु द्वन्द्व, पर्यटन विकासलगायत क्षेत्रमा काम गर्नुपर्ने विषयहरू प्रधानमन्त्री समक्ष राखेका छन्।
म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने कामहरूमा ढिलाइ भएकाले ती कामहरूमा सहजीकरण गर्न आग्रह गरिएको बताए। उनले भने, “असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने कामहरू छन्। ढिलो भएका ठाउँहरूमा तिब्रता ल्याउनुपर्छ।” सांसदहरूले तत्काल र दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने समस्या पनि सरकारका अगाडि राखेका छन्। स्याङ्जाबाट निर्वाचित झविलाल डुम्रेले भने, “प्रधानमन्त्रीलाई क्षेत्रको समस्यामा विशेष ध्यान दिन अनुरोध गरेका छौं।”
प्रधानमन्त्री बालेनले सबै सांसदहरूको कुरा ध्यानपूर्वक सुन्नुभएको र सचिवालयले टिपोटसमेत गरेको छ। नवलपुर–१ बाट निर्वाचित सांसद राजन गौतमले भने, “गर्न सकिने कामहरू तुरुन्त गर्नुपर्ने र गर्न नसकिने कामहरू अहिले गर्न नहुने बताउनुभएको छ।” छलफलमा सहभागी सांसदहरूले जनाएअनुसार प्रधानमन्त्री बालेनले सबै मिलेर काम गर्नुपर्ने जोड दिएका थिए। समस्याहरू लिखित रूपमा प्रधानमन्त्री कार्यालयमा पेश गर्न अनुरोध समेत गर्नुभएको छ। सांसद मनिष खनालले भने, “जुन समस्या हो, त्यो सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने र प्रदेशका सबै सांसदहरूलाई सम्मिलित गरी ह्वाट्सएप समूहमा जोडिन भन्नुभएको छ।” यसअघि प्रधानमन्त्री बालेनले अन्य प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गरिसक्नुभएको छ।






